काठमाडौं, बुधबार। युद्ध अन्त्यका लागि बेलायतमा अमेरिका, युक्रेन र युरोपेली देशहरूबीच नयाँ चरणको वार्ता शुरू भएको छ । बुधबारदेखि लन्डनमा संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली राष्ट्रहरूको सहभागितामा युद्धविराम र दीर्घकालीन शान्ति सम्झौताका लागि लन्डनमा बहुपक्षीय छलफल शुरू भएको हो ।
बेलायती विदेशमन्त्री डेभिड लामीको नेतृत्वमा यस वार्तामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीका प्रमुख सल्लाहकार एन्ड्री येरमाक, अमेरिकी दूत किथ केलोग र फ्रान्सेली सल्लाहकार इमानुएल बोन सहभागी भएका छन्। यो वार्ता गत हप्ता पेरिसमा भएको बैठकपछिको हो, जसमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रूसी समकक्षसँग योजना छलफल गरेका थिए।
फाइनान्सियल टाइम्स (एफटी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रूसी आक्रमण रोक्ने प्रस्ताव राखेको दावी गरेको छ । एफटीका अनुसार, पुटिनले सेन्ट पिटर्सबर्गमा अमेरिकी दूत स्टिभ विटककफसँगको बैठकमा डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिझियाका केही भागबाट रूसी दाबी फिर्ता लिने इच्छा जनाएका छन्। बदलामा अमेरिकाले २०१४ मा रूसले अधिग्रहण गरेको क्रमियालाई मान्यता दिने र युक्रेनलाई नाटोमा प्रवेशदिन नरोक्ने माग गरेको छ। तर क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोवले यी दाबी "नक्कली" बताएका छन्।
युक्रेनी र अमेरिकी प्रतिक्रिया:
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्धविरामपछि मात्र रूससँग प्रत्यक्ष वार्ता गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न "द्रुत प्रगति" नभएमा वार्ताबाट बाहिरिने चेतावनी दिंदै यस हप्तै सम्झौता सम्भव बताएका छन्। अमेरिकी प्रवक्ता क्यारोलिन लेभिटले ट्रम्प "दुवै पक्षको हत्या रोक्न चाहनुहुन्छ" भनेर जोड दिएकी छिन्।
गत तीन वर्षदेखि चलिआएको युद्धमा हालैका हवाई आक्रमण र सीमावर्ती क्षेत्रमा संघर्ष तीव्र भएको छ। युरोपेली नेताहरूले ट्रम्प प्रशासनले युक्रेनलाई सैन्य सहयोग घटाउन सक्ने डरबाट यसैअनुसारको योजना बनाउँदै छन्। यसअघि मार्चमा ट्रम्पले बिनाशर्त युद्धविरामको प्रस्ताव राखेका थिए । जसलाई युक्रेनले स्वीकारे तर रूसले अस्वीकार गरेको थियो। अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियालाई गति दिने अपेक्षा गरिएको छ।
यसैबीच, युक्रेनको ड्निप्रोपेट्रोभस्क क्षेत्रमा रुसी ड्रोनले कामदारहरू ओसारपसार गर्दै गरेको बसमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते छन्। क्षेत्रीय गभर्नर सेर्गी लिसाकले यसको पुष्टि गर्दै आक्रमणपछि धेरै क्षेत्रमा आगलागीको घटनाको जानकारी दिएका छन्। रासस/एएफपी