काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को खुद ब्याज आम्दानी घट्दा खुद नाफा पनि घटेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी मात्र खुद ब्याज आम्दानी गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी रकम १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी २४ प्रतिशत घटेको हो ।
कम्पनीको खुद नाफा यो वर्ष करीब ९ प्रतिशत कम भएको छ । गत वर्ष ९८ करोड ७३ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको खुद नाफा यस वर्ष ९० करोड रुपैयाँभन्दा बढी भएको हो ।
तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँभन्दा बढी छ । गत वर्ष कम्पनीको वितरणयोग्य नाफा ४७ करोड ८८ लाख रुपैयाँभन्दा बढी थियो ।
यस वर्ष कम्पनीले इम्पेयरमेन्ट चार्ज बापत्को २ करोड ८१ लाख रुपैयाँ रकम फिर्ता पाएको छ । गत वर्ष यस अवधिसम्म इम्पेयरमेन्ट चार्जबापत् २८ करोड ६० लाख रुपैयाँभन्दा बढी रकम छुट्याएको थियो ।
हाल कम्पनीको चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । तेसो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम भने ३ अर्ब ७४ करोड ७५ लाख रुपैयाँभन्दा बढी छ ।
यस अवधिमा ७ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले २४ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम कर्जा प्रवाह गरेको छ ।
गत वर्ष शून्य रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव २१ प्रतिशत कायम भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५६ पैसा र प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ८१ पैसा छ ।