पाहलगाम/नयाँ दिल्ली । जम्मू-कश्मीरको पाहलगाममा मंगलबार भएको आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो साउदी अरबको भ्रमण छोट्याएका छन्। उनी बुधबार बिहानै भारत फर्किएका छन् भने लगत्तै शीर्ष सुरक्षा अधिकारीहरूसँग आपतकालीन बैठक गरेकाो सरकारी अधिकारीहरूले जनाएका छन्।
२२ अप्रिल २०२५ मा बैसरान क्षेत्रको जंगलबाट निस्केका बन्दुकधारीहरूले पर्यटकहरू, स्थानीय बासिन्दा र व्यवसायिक रूपमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा २८ जनाको मृत्यु भएको थियो । ज्यान गुमाउनेहरूमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय बासिन्दा र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन्। थप ३६ जना घाइते भएका छन्।
यस आक्रमणको जिम्मेवारी पाकिस्तानस्थित विद्रहोही संगठन लश्कर-ए-तैयबासँग सम्बन्धित ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ । प्रधानमन्त्री मोदीले घटनालाई "जघन्य आतंकवादी कार्य" भन्दै कडा शब्दमा निन्दा गरेका छन्। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
गृहमन्त्री अमित शाहले घटनापछि श्रीनगर पुगेर सुरक्षा अवस्थाको मूल्याङ्कन गरेका थिए । भारतीय सुरक्षाबलले हमलाकारीहरूको खोजीका लागि व्यापक अपरेशन शुरू गरेको बताएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणप्रति गहिरो दुःख प्रकट गर्दै प्रधानमन्त्री मोदीसँग छिट्टै वार्ता गर्ने तयारीमा रहेको आफ्नो ट्रुथ सोशल एकाउन्टमा लेखेका छन् । “कश्मीरबाट आएको यो अत्यन्त पीडादायी खबरले हामी सबैलाई मर्माहित बनाएको छ। अमेरिकाले आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता व्यक्त गर्दछ।”
युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयनले समेत आक्रमणको निन्दा गर्दै युरोप भारतको साथमा रहेको बताएकी छन् ।
जम्मू-कश्मीरमा सन् २००० पछिको यो सबैभन्दा घातक आक्रमण मानिएको छ । घटनास्थल पाहलगामको आसपास हाल ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र खोजी अपरेशन तीव्र रूपमा जारी रहेको भारतीय सेनाले जनाएको छ।
बाँचेका प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीहरू जंगलबाट निस्केर स्वचालित हतियारद्वारा अन्धाधुन्ध गोली चलाएका थिए। केही प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीहरूले महिलाहरूलाई जानाजान लक्षित नगरेको पनि देखिएको छ।
भारत र पाकिस्तानबीच काश्मीर मुद्दालाई लिएर पुनः तनाव बढ्ने सङ्केत देखिएको विश्लेषकहरूले बताएका छन्। भारतले पाकिस्तानमाथि आतङ्ककारीहरूलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ, जुन आरोपलाई पाकिस्तानले अस्वीकार गर्दै आएको छ। रासस/एएफपी/एएनआई