विश्वकै सबैभन्दा अग्लो ठाउँमा, सेता हिउँका हिमनदीहरू र अग्ला चट्टानहरूबीच शान्त वातावरण हुन्छ । अचानक त्यो शान्त वातावरणलाई आकाशबाट खसेको एउटा भर्याङले तोड्छ ।
मिलन पाण्डे सगरमाथाको आधार शिविरमा बसेर त्यस्तो दृश्य हेरिरहेका छन् जुन संसारका थोरैले मात्रै देख्न पाएका छन् र उनी त्यहाँ पुग्न कुनै क्य्राम्पोन लगाएर वा आइस एक्स प्रयोग गरेर होइन, ड्रोन उडाएर पुगेका हुन् । उनी ड्रोन पाइलट हुन् र उनको कामले सगरमाथा पर्वतारोहणमा सधैंको लागि परिवर्तन ल्याउन सक्छ ।
पाण्डेले ड्रोनमार्फत आधार शिविर र पहिलो शिविरबीच रहेको खुम्बु हिमनदीमा आवश्यक पर्ने भर्याङ, डोरी, अक्सिजन सिलिन्डरहरू पुर्याउन सक्छन्, जसले ‘आइसफल डाक्टर’ भनिने शेर्पाहरूलाई सहायता पुर्याउँछ र यसले पर्वतमा धेरैजना शेर्पाहरूको जीवन बचाउन सक्छ ।
शेर्पाहरू ७ दशकदेखि आरोहण मार्ग बनाउँदै आएका छन् जसमा धेरैले ज्यान गुमाएका छन् । एयरलिफ्ट टेक्नोलोजी नामक स्थानीय ड्रोन म्यापिङ कम्पनीका पाण्डे विश्वास गर्छन् कि ड्रोन प्रयोग गर्ने आफ्नो प्राविधिक शीप र शेर्पाहरूको दशौं वर्षको पर्वतारोहण अनुभव मिलाएर सगरमाथालाई सुरक्षित बनाउन सकिन्छ ।
आधार शिविर समुद्री सतहदेखि ५,३६४ मिटर (१७,५९८ फिट) उचाइमा र पहिलो शिविर ६,०६५ मिटर (१९,९०० फिट) उचाइमा छ । दुवैबीचको हवाई दूरी लगभग १ दशमलव ८ माइल छ । शेर्पाहरूलाई त्यहाँ पुग्न ६–७ घण्टा लाग्छ तर ड्रोनलाई केवल ६–७ मिनेट मात्र लाग्छ ।
‘इम्याजिन नेपाल’ नामक आरोहण कम्पनीका मिङ्मा जी शेर्पाले सन् २०२३ मा हिमपहिरोमा तीन जना साथीहरूको ज्यान गएको देखेपछि यस प्रकारको सहायताको आवश्यकता महसूस गरे । उनीहरूको शवहरू फेला पार्न सकेनन् ।
‘उनीहरूलाई मार्ग पत्ता लगाउन र उपकरण ल्याउन पर्वतमा बीसपटक जानुपथ्र्याे । मैले चीनमा अर्काे पर्वतमा ड्रोन प्रयोग भएको सुनेको थिएँ र सोचें हामीले किन नगर्ने ?’ उनले भने ।
त्यही समयमा एयरलिफ्ट नेपालका सीईओ राज विक्रम खुम्बु गाउँपालिकासँग सगरमाथाको ३ डी म्यापिङ गर्नका लागि समन्वयमा थिए । नगरपालिकाका मेयरले सोधे, ‘ड्रोनले कति भार बोक्न सक्छ ?’
अप्रिल २०२४ मा, चीनको डीजीआई कम्पनीले दिएको दुईओटा ड्रोनमार्फत एयरलिफ्टले परीक्षण शुरू गर्यो ।
‘शुरुआतमा यो हाम्रो पनि पहिलो पटक सगरमाथा आधार शिविरको अनुभव भएकाले त्यहाँको उचाइ र तापक्रममा ड्रोन कसरी काम गर्छ भन्नेमा हामी निश्चित थिएनौं,’ विक्रमले भने । त्यहाँको दृश्य र हावाको गति मुख्य चुनौती बने । उनीहरूलाई भूगोल बुझ्न झन्डै १ महीना लाग्यो ।
एयरलिफ्ट नेपालको पहिलो सरसफाइ अभियानमा ड्रोनमार्फत पहिलो शिविरबाट आधार शिविरसम्म झन्डै १,१०० पाउन्ड फोहर झारिएको थियो ।
यसका लागि ४० भन्दा बढी उडानहरू गरियो । ड्रोनले अधिकतम ६६ पाउन्ड तौल बोक्न सक्छ तर सुरक्षाको लागि एकपटकमा ४४ पाउन्ड मात्र बोकिन्छ ।
सन् २०२५ को सगरमाथा आरोहण सिजनमा एयरलिफ्ट टेक्नोलोजीले सिजन शुरू हुनुअगाडि सामग्री ढुवानीमा सहयोग गर्नेछ र त्यसपछि फोहर उठाउनेछ ।
शेर्पाहरूले ड्रोन चालक पाण्डेलाई कुन दिशा जानुपर्ने हो भन्छन्, त्यसपछि उनी सानो ड्रोनमार्फत बाटो जाँच गर्छन् । त्यसपछि शेर्पाहरू खतरापूर्ण हिमनदी क्षेत्रमा चढेर मार्ग निर्धारण गर्छन् ।
‘उनीहरूले यहाँ भर्याङ चाहिन्छ, यहाँ डोरी चाहिन्छ भनेर बताउँछन्, अनि हामीलाई वाकीटकीबाट लोकेशन पठाउँछन्, त्यसपछि हामी ड्रोनमार्फत उपकरण पठाउँछौं,’ पाण्डेले भने ।
ड्रोनहरूले अक्सिजन सिलिन्डर, औषधिजस्ता जीवनरक्षक सामग्री पनि पुर्याउन सक्छन् ।
हाल एयरलिफ्टसँग दुईओटा डीजीआई ड्रोन छन्, जसमध्ये केवल एउटा सगरमाथामा सञ्चालन भइरहेको छ । दोस्रो ब्याकअपका लागि राखिएको हो र आवश्यक परेमा दुवै प्रयोग गरिनेछ । तर, चुनौती भनेको खर्च हो । प्रत्येक ड्रोनको लागत झन्डै ७० हजार डलर छ, जुन सञ्चालनको खर्चबाहेक हो ।
‘आधार शिविरमा सबै कुरा महँगो हुन्छ,’ विक्रमले भने । ‘त्यहाँ बिजुली छैन, त्यसैले ब्याट्री चार्ज गर्न धेरै इन्धन चाहिन्छ । शिविरसम्म पुग्न, जनशक्ति, वास, खाना सबैको ठूलो खर्च हुन्छ ।’
एरोनटिकल इन्जिनीयर विक्रमका लागि ड्रोन सधैं एक रुचिको विषय थियो । उनले आजभन्दा झन्डै १ दशकअघि नेपालमै पहिलो ‘डीआइवाइ ड्रोन’ बनाए, जुन २०१५ को भूकम्पमा सहायता कार्यमा निकै उपयोगी साबित भयो ।
‘हामी केवल उपकरण पुर्याइरहेका छैनौं, खोज तथा उद्धार हाम्रो मुख्य प्राथमिकता हो । मान्छेहरू बाटो बिराउँदा हामी उनीहरूलाई लोकेट गर्न सक्छौं,’ पाण्डेले थपे ।
धेरै शेर्पाहरू जोखिमपूर्ण उच्च हिमाली कामबाट टाढा भई वैदेशिक रोजगारी रोजिरहेका छन् । ‘हामी आशा गर्छौं कि ड्रोनहरूले यस पेशालाई सुरक्षित बनाउनेछ र मानिशहरूलाई यस खालको आरोहणतर्फ फर्काउनेछ । यही त हाम्रो देशको पहिचान हो । शेर्पाहरूको शीपविना हामीले सगरमाथा पार गर्न सक्दैनौं,’ पाण्डेले भने ।
२८ वर्षीय दावा जान्जु शेर्पा ‘आइसफल डाक्टर’ टोलीको फ्रन्टम्यान (अग्रपंक्तिको शेर्पा) हुन् । टोलीमा एक जना पाको शेर्पाले बाटो तय गर्छन् तर बलियो र जवान फ्रन्टम्यान पहिलोपटक खतरापूर्ण हिउँमा जान्छ ।
‘यस सिजनमा धेरै ड्राइ आइस छ, त्यहाँ बाटो बनाउने काम कठिन बनाउँछ र बीचमा धेरै आइस टावर छन्,’ उनले भने । अब ड्रोनमार्फत शुरुवाती मार्ग पत्ता लगाउन सकिन्छ तर मौसमको अनिश्चितताले सबै समय परिवर्तन भइरहन्छ ।
जान्जु शेर्पा भन्छन्, ‘हाम्रो काम समयसापेक्ष हुन्छ । यदि हामीले चाँडै बाटो बनाएनौं भने सबै आरोहण टोली रोकिन्छ । ड्रोनले भर्याङजस्ता सामग्री माथि पुर्याइदिने भएपछि हामीलाई तल झर्नु नपर्ने भयो ।’
‘यो साहसिक काम हो तर धेरै जोखिम पनि छ । मेरी श्रीमती र दुई छोरीमध्ये म मात्रै कमाउँछु । यदि यो पेशा सुरक्षित बनाउन सकिन्छ भने म स्वागत गर्छु,’ उनले थपे ।
२०२५ को आरोहण सिजन शुरू भइसकेको छ । यो सिजन छोटो हुन्छ, त्यसैले अधिकांश आरोहीले अप्रिल र मेमै प्रयास गर्छन् ।
न्यूजिल्यान्डस्थित ‘एडभेन्चर कन्सल्टेन्ट्स’का क्यारोलिन ओग्लले भनिन्, ‘ड्रोन प्रयोग पर्वतारोहणको विकासक्रमको एक भाग हो । पहिले स्याटेलाइट फोन, मौसम पूर्वानुमान थिएनन् । अब यी सबैले पर्वतारोहण सुरक्षित बनाएका छन्, ड्रोन पनि त्यही प्रविधिगत विकास हो ।’
अल्पाइन एथलेटिक्समार्फत सात महादेशका सर्वोच्च शिखर चढिसकेकी लिसा थोम्पसन पनि यो स्वीकार्छिन्, ‘यो प्रविधिले पर्वतारोहणको परम्परागत शीपलाई कम गराउँछ जस्तो मलाई लाग्दैन । हिमाल त उही हो, चुनौती अझै वास्तविक छ ।’
(सीएनएनमा प्रकाशित सामग्रीको नेपाली भावानुवाद)