काठमाडौं। जम्मु–कश्मीरमा भएको हमलापछि भारतले पाकिस्तानविरुद्ध कडा कुटनीतिक कदम चाल्दा यसको असर दुवै देशका शेयर बजारमा देखिएको छ । दुई देशबीचको तनाव बढ्दै जाँदा बजारमा अस्थिरता देखिएको हो ।
बिहीवार भारतको शेयर बजार परिसूचक बीएसई सेन्सेक्समा सामान्य गिरावट आएको छ । भारतीय सञ्चारसंस्था इकोनोमिक टाइम्सका अनुसार बीएसई सेन्सेक्स ३१५ अंकले घटेको छ । यस्तै, निफ्टी५० २४ हजार २५० अंकभन्दा तल झरेको छ ।
गिरावट धेरै ठूलो नभए पनि लगानीकर्ताहरू सतर्क देखिएका छन् ।
स्मलकेशका संस्थापक तथा प्रबन्धक नरेन्दर सिंहले बजारमा आएको गिरावटको मुख्य कारण भारत–पाकिस्तानबीचको बढ्दो तनाव रहेको बताए । उनले भने, ‘जम्मु–कश्मीरमा भएको आतङ्कवादी आक्रमणपछि उत्पन्न भएको तनावले सेन्सेक्समा २०० भन्दा बढी अंकको गिरावट र निफ्टी २४ हजार ३०० भन्दा तल झर्नु सामान्य हो ।’
जम्मू र कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । भारतले उक्त घटनामा पाकिस्तानलाई दोष लगाउँदै ऊविरुद्ध कूटनीतिक कदमहरू चालेको छ ।
भारतले पाकिस्तानका रक्षा सल्लाहकारहरूलाई भारतबाट निष्कासन गर्ने, इस्लामाबादस्थित भारतीय दूतावासको कर्मचारी संख्या घटाउने, भारत–पाकिस्तानबीचको १९६० को सिन्धु जल सन्धि स्थगित गर्ने र भारत–पाकिस्तानको मुख्य सीमा अटारी नाका बन्द गर्ने निर्णय गरेको छ ।
शेयर बजारसम्बन्धी जानकारहरूले बजारको भविष्य अबको परिस्थितिमा निर्भर रहने बताएका छन् । जियोजित फाइनाइन्सियल सर्भिसेजका प्रमुख लगानी रणनीतिकार डा. वीके विजयकुमारले लगानीकर्तालाई सर्तक रहन सुझाव दिएका छन् । ‘अब बजारको ध्यान भारतको प्रतिक्रिया कुन प्रकृतिको, कहिले र कति गम्भीर हुन्छ भन्नेमा हुनेछ,’ उनले भने ।
सिंहले भने, ‘अन्तर्राष्ट्रिय कुटनीतिक प्रयासको दिशा पनि बजार स्थिरतामा महत्वपूर्ण प्रभाव पार्न सक्छ ।’
पाकिस्तानको शेयर बजार पनि घट्यो
भारतले पाकिस्तानविरुद्ध कूटनीतिक कदम घोषणा गरेपछि पाकिस्तानको शेयर बजार सूचक केएसई–१०० २ हजार २०६ अंकले घटेर १ लाख १५ हजार १९.८१ अंकमा झरेको छ ।
चेइस सेक्युरिटीजका अनुसन्धान निर्देशक युसुफ एम. फारूकले भने, ‘भारत–पाकिस्तानबीच तनाव बढ्न सक्ने डरका कारण बजार तलबाट खुल्यो ।’ तर, कर्पोरेट नाफा सकारात्मक भएकाले केही पुनरुत्थानमा सहयोग पुर्याएको उनले बताए ।
आरिफ हबीब लिमिटेडकी अनुसन्धान प्रमुख सना तौफिकका अनुसार, बजारमा नकारात्मकता मुख्य रूपमा भारत–पाकिस्तान तनावका कारण हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानको आर्थिक वृद्धिको लक्ष्य घटाएको असर पनि शेयर बजारमा देखिएको उनको भनाइ छ ।
यसो त पाकिस्तानको शेयर बजार हिजो पनि घटेको थियो । हिजो शेयर बजार १ लाख १८ हजार अंकमा झरेको थियो ।
भारतअधिन कश्मीरमा गत मंगलवार भएको हमलापछि भारत–पाकिस्तानबीच तनाव बढ्ने सम्भावना देखिएको छ । उक्त घटनामा पाकिस्तानलाई दोष दिइरहेको भारतले कूटनीतिक कदम पनि चालिसकेको छ ।
यसको प्रतिक्रिया स्वरूप पाकिस्तानले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएको छ । एजेन्सीको सहयोगमा