काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रवार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मिथिला लघुवित्त वित्तीय संस्थाको १४ दशमलव २५ प्रतिशत र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १ दशमलव ८६५९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
मिथिला लघुवित्तको बोनस शेयरबापतको २ लाख ७९ हजार ३०३ दशमलव ९३ कित्ता र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १ लाख ८३ हजार १६८ कित्ता बोनस शेयर नेप्सेमा थपिएको हो । आगामी आइतवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । यस वर्ष बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव शून्य ९८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि कम्पनीले पारित गरेको हो ।
यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस १९ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका हुन् ।
त्यस्तै मिथिला लघुवित्तले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।
मिथिला लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस ११ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन पुस १० एक दिन सार्वजनिक विदा परेकाले पुस ९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका छन् ।