काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले यस वर्षको ‘बेष्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड जितेको छ ।
न्यू बिजनेश एज लिमिटेडको आयोजनामा काठमाडौंमा भइरहेको ‘न्यूबिज बिजनेस कन्क्लेभ एण्ड बिजनेश एक्सीलेन्स अवार्डस्’ कार्यक्रममा उक्त बैंकलाई सम्मान गरिएको हो ।
पञ्जाब नेशनल बैंकको २० प्रतिशत शेयर साझेदारीमा सन् १९९४ मा स्थापना भएको बैंकले हाल १३ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।
बैंकले एबिबिएस सिस्टमबाट देशैभरका स्थानबाट सेवा प्रवाह गर्दै आएको छ । बैंकले नेपालभर १३१ ओटा शाखाहरू, १६७ ओटा एटिएम बुथहरू र ३२ ओटा राजस्व संकलन र ४ ओटा विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।
यसअघि सन् २०१३, २०१८ र २०१९ मा पनि न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डस्मा ‘बेष्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड जित्न सफल भएको यो बैंकले फाइनान्सियल टाइम्स लण्डनले प्रकाशन गर्ने ‘दी बैंकर’ जर्नलको ‘बैंक अफ दी इयर–२००६’ लगायत राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा बैंकले तीन अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको यसै अवधिको तुलनामा नाफा ३२ प्रतिशतले वृद्धि भएको छ ।
चालु आवको चैतसम्ममा बैंकले २ खर्ब ६६ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६१ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । १२ दशमलव ६७ प्रतिशत पुँजीकोष अनुपात रहेको बैंकको खराब कर्जा अनुपात शून्य दशमलव ६४ प्रतिशत मात्र छ ।
प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा रहेको बैंकको पूँजीमा प्रतिफल १५ दशमलव ८२ प्रतिशत रहेको बैंकको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।