काठमाडौं । भारतले सुनचाँदीमा लाग्ने भन्सार महशुल भारी मात्रामा घटाएपछि नेपालमा पनि सोहीअनुसार दर हेरफेर गर्न सरकारलाई दबाब परेको छ । भन्सार महशुल कटौतीसँगै भारतमा सुनचाँदी नेपालको तुलनामा धेरै सस्तो हुने देखिएसँगै सरकारलाई नयाँ दिल्लीकै पदचाप पछ्याउन दबाब परेको हो ।
आगामी आर्थिक वर्ष (आव) को बजेट पेश गर्दै भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सुनचाँदी आयातमा लाग्ने भन्सार महशुल १५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरेकी छन् । नेपाल सरकारले भने गत जेठ १५ गते आव २०८१/८२ को बजेट सार्वजनिक गर्दै सुन आयात गर्दा लाग्ने भन्सार महशुल १५ बाट बढाएर २० प्रतिशत पुर्याएको छ । नेपालमा सुन आयात गर्दा हाल २० प्रतिशत र चाँदी आयात गर्दा १५ प्रतिशत भन्सार महशुल लाग्छ ।
नेपाल सरकारले सुन आयातमा लाग्ने भन्सार महशुल बढाउँदै सुनका गहनाको मूल्य बढाउने नीति लिँदा भारत सरकारले भन्सार घटाएर सुनचाँदीका गहनाको मूल्य घटाउने नीति लिएको छ । यसले खुला सीमाबाट अनधिकृत आयात बढ्ने जोखिम ह्वात्तै बढाएको सुनचाँदी व्यवसायी बताउँछन् ।
भारत सरकारले गत माघ ८ गते सुनचाँदी आयातमा लाग्ने भन्सार महशुल बढाएको थियो । उच्च दरमा सुन आयात बढ्दा व्यापारघाटा बढेको भन्दै भारत सरकारले सुन र चाँदी आयातमा लाग्ने १० प्रतिशत भन्सार महशुललाई १५ प्रतिशत बनाएको थियो । ५ प्रतिशत बिन्दुले भन्सार महशुल बढाएको ६ महीनापछि ९ प्रतिशत बिन्दुले घटाएको छ ।
- नेपालमा भन्दा भारतमा सुनचाँदी अझ सस्तिने
- खुला सीमाका कारण अवैध व्यापार बढ्ने खतरा
- नेपाली बजार जोगाउन तत्काल भन्सार महशुल पुनरवलोकन गर्नुपर्ने सुनचाँदी व्यवसायीको सुझाव
- तत्काल अध्ययन गर्ने तयारीमा अर्थ मन्त्रालय
नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्य भारतको पछिल्लो नीतिले नेपालमा तत्कालै भन्सार महशुल घटाउनुपर्ने स्थिति आएको बताउँछन् । उनका अनुसार भारतले मंगलवार सुनमा लाग्ने भन्सार घटाएपछि काँचो सुन नेपालको तुलनामा भारतमा प्रतितोला १२ हजार रूपैयाँभन्दा धेरैले र चाँदी प्रतितोला २ सय रुपैयाँभन्दा धेरैले सस्तो पर्छ । ‘नेपाली बजारमा खोजिने गरगहना भारतमा नपाइने कुरै आउँदैन,’ उनले आर्थिक अभियानसँग भने, ‘सस्तो सुनचाँदी पाइएपछि नेपाली ग्राहक भारतमा आकर्षित हुने निश्चित छ ।’ सरकारले भन्सार महशुल तत्कालै पुनरवलोकन नगरे नेपालको सुनचाँदी बजार ध्वस्त हुने खतरा रहेको उनले बताए ।
महासंघकै पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार नेपालले समयअनुसार सुनचाँदीमा लाग्दै आएको भन्सार महशुल घटाउन सकेको छैन । ‘नीति परिवर्तन नहुँदा समस्या भएको छ,’ शाक्यले आर्थिक अभियानसँग भने, ‘गत बजेटबाट महशुल बढाउनु हुँदैनथ्यो ।’
भन्सार महशुल बढाउँदा अहिले नै नेपालमा भारतबाट चाँदी तस्करी भइरहेको उनको भनाइ छ । तत्कालै भन्सार महशुल घटाउन अर्थमन्त्रीलाई भेटेर महासंघले ध्यानाकर्षण गराउने शाक्यले बताए ।
शाक्यका अनुसार सुनचाँदी आयातमा लाग्ने महशुल दर स्थिर राख्नुपर्छ । ‘नेपाली बजार जोगाउने हो भने प्रति १० ग्राम १० प्रतिशत भन्सार महशुल लगाइनुपर्छ,’ उनले भने ।
करविद् डा. चन्द्रमणि अधिकारी भारतले सुनचाँदीमा कर घटाउनुको मुख्य कारण चीनबाट नेपाल हुँदै हुने सुनचाँदी तस्करी नियन्त्रण गर्नु ठान्छन् । ‘भारतमा माग बढी भइरहेको थियो,’ उनले आर्थिक अभियानसँग भने, ‘तस्कारी पनि उत्तिकै थियो, त्यसलाई उसले महशुल घटाएर नियन्त्रण गर्न खोज्यो ।’
भारतले सुनचाँदीमा भन्सार महशुल घटाउँदा विभिन्न देशबाट नेपाल हुँदै भारतमा गरिने तस्करी कम हुने उनी बताउँछन् । भारत ठूलो बजार भएकाले नेपालबाट तस्करी हुँदा ठूलो मात्रामा नेपालको विदेशी मुद्रा खर्चिनुपर्ने हुन्छ ।
तस्करहरूले विदेशमा बस्ने नेपालीले पठाउने विप्रेषण उतै रोकी त्यसबाट सुन किनेर नेपाल हुँदै भारत तस्करी गरेको आशंका राष्ट्र बैंकले गर्दै आएको छ । विगतमा नेपालको विदेशी मुद्रा सञ्चितिमा ह्रास आउनुको कारण उच्च आयातका अतिरिक्त सुनको तस्करी पनि रहेको राष्ट्र बैंकले बताउँदै आएको छ । त्यही कारणले सरकारले २ वर्षअघि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउनुका अतिरिक्त सरकारले सुन आयातमा कडाइ गरेको थियो ।
सुन महँगिइरहेका बेला भारतमा सस्तो स्वदेशी ग्राहकले उतै गएर गहना बनाउने सम्भावना बढ्ने सुनचाँदी व्यवसायीको तर्क छ । यसो हुँदा यहाँको व्यापार सुक्न सक्ने डर उनीहरूमा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
भन्सार विभागका अनुसार गत आव २०८०/८१ मा नेपालमा २३ अर्ब ६५ करोड रुपैयाँको सुन आयात भएको छ । नेपालभन्दा भारतमा मूल्य कम हुँदा उताबाट सुन तस्करी भएर आउने खतरा बढेको अर्थविद् अधिकारीले बताए ।
‘अब सरकारी निकायहरूको क्षमता बढाउनुपर्यो,’ उनले भने, ‘निगरानीसँगै अनुगमन गरी चोरी पैठारी नियन्त्रणमा सरकार चनाखो हुनुपर्छ ।’ करविज्ञ अधिकारी दुई देशमा सुनचाँदीमा लाग्दै आएको भन्सार महशुल अन्तरको सूक्ष्म अध्ययन गरी अर्थ मन्त्रालय र राष्ट्र बैंकले तदनुसार कदम चाल्नुपर्ने बताउँछन् ।
अर्थ मन्त्रालयको राजस्व महाशाखाका एक उच्च अधिकारीले भारतले घटाएको भन्सार महशुल र नेपालमा लाग्ने दरबारे अध्ययनको तयारी भएको छ । ‘अध्ययनपछि भन्सार महशुल दर पुनरवलोकन हुन सक्छ,’ ती अधिकारीले भने । तत्काल गर्न सकिने विकल्पका बारेमा समेत अर्थ मन्त्रालयले छिट्टै व्यवसायीसँग छलफल गर्न लागेको उनको भनाइ छ ।