काठमाडौं । भारतको हरियाणा विधानसभा निर्वाचनको मतगणना शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आज (मंगलवार) बिहान ८ बजेदेखि त्यहाँ मतगणना शुरु भएको हो ।
आज अपराह्न १ः५० बजेसम्मको (नेपाली समयअनुसार) मतगणनाअनुसार भाजपाले सबैभन्दा बढी सिटमा अग्रता लिइरहेको छ । अहिलेसम्म ३ सिटमा विजयी भएको भाजपाले ४६ स्थानमा अग्रता लिइरहेको छ ।
भारतीय कंग्रेसले पनि समान ३ स्थानमै जित हासिल गरेको छ । उसले ३२ स्थानमा अग्रता बनाइरहेको छ । यस्तै, इन्डियन नेशनल लोकदल र बहुजन समाज पार्टीको गठबन्धन आईएनएलडीले २ स्थानमा र अन्यले ३ स्थानमा अग्रता बनाएका छन् ।
हरियाणा विधानसभाको ९० सिटका लागि गत शनिवार मतदान भएको थियो । निर्वाचनमा ४६४ स्वतन्त्रसहित १ हजार ३१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
जम्मू कश्मीरमा एनसी गठबन्धन अगाडि
जम्मू कश्मीरमा प्रारम्भिक मतगणनामा भारतीय कंग्रेस नेतृत्वको एनसी गठबन्धनले सबैभन्दा धेरै स्थानमा अग्रता बनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त गठबन्धन ४८ स्थानमा अगाडि देखिँदा ४ स्थानमा विजयी भइसकेको छ ।
अहिलेसम्मको मतपरिणाम अनुसार भाजपाले सबैभन्दा बढी ११ स्थानमा जित हासिल गरेको छ । भाजपाको अग्रता भने १६ स्थानमा मात्रै देखिएको छ ।
विजयी सिट संख्याका आधारमा अहिलेसम्म भाजपा अग्रस्थानमा भए पनि अग्रता लिएको सिटका आधारमा भने दोस्रो स्थानमा छ ।
यसैगरी, पीडीपीले १ सिटमा जित हासिल गरेको छ भने १ स्थानमा अग्रता बनाइरहेको छ । एआईपी गठबन्धनले पनि १ सिटमा अगाडि देखिएको छ । प्रारम्भिक मतगणनामा अन्यले ६ स्थानमा अग्रता बनाउँदा २ सिटमा जित हासिल गरेका छन् ।