काठमाडौं । नेपालकी उदीयमान टेनिस खेलाडी शिवाली गुरुङले सन् २०२५ का लागि १० लाख रुपैयाँको प्रायोजन प्राप्त गरेकी छिन् । यो प्रायोजन भाटभटेनी सुपरमार्केटको नेतृत्वमा
भएको हो । ‘यस सहयोगले शिवालीलाई एशियाकै उत्कृष्ट यू–१४ खेलाडी बन्ने यात्रामा मद्दत गर्नेछ । हाल एशियन टेनिस फेडेरेसनको ‘यू–१४ गल्र्स’ श्रेणीमा शिवाली १२औं स्थानमा छिन् र यस वर्ष उनी शीर्ष १० मा पर्न तयारीमा छिन्,’ भाटभटेनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मुख्य प्रायोजकको रूपमा भाटभटेनी सुपरमार्केटसहित अन्य प्रतिष्ठित ब्रान्डहरूले उनको प्रशिक्षण, यात्रा र प्रतियोगिताका खर्चहरूको व्यवस्था गर्ने बताइएको छ । यसले उनलाई अन्तरराष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न र विश्वभर नेपाललाई प्रतिनिधित्व गर्न अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
‘हामी युवा विकास र भविष्यका खेलाडी निर्माण गर्न प्रतिबद्ध छौं, जसले अन्तरराष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्नेछन् । शिवालीको यात्रालाई समर्थन गर्नु हाम्रो युवा प्रतिभालाई प्रेरित र पोषण गर्ने दृष्टिकोणको हिस्सा हो,’ भाटभटेनी सुपरमार्केटका निर्देशक कल्याण गुरुङले भने ।
यसैगरी शिवालीले भनिन्, ‘यो प्रायोजन मेरो जीवन बदल्ने अवसर हो । भाटभटेनी सुपरमार्केट र अन्य प्रायोजकको सहयोगका लागि म आभारी छु, जसले मलाई मेरो सपना– एशियाकी शीर्ष खेलाडी बन्न र नेपाललाई गर्व गर्न सक्ने मौका दिनेछ ।’ १३ वर्षको उमेरमै शिवालीले यू–१८ नेपाल च्याम्पियनसिप जित्ने, आईटीएफ वल्र्ड टेनिस टूर जे३० को फाइनलसम्म पुग्ने र विभिन्न अन्तरराष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने जस्ता उल्लेखनीय उपलब्धि हासिल गरिसकेकी छिन् ।