भर्खरै होली सकियो । होली कसैले पानीले खेले, कसैले रंगले त कसैले बिरंगले । मन भरंग भएकाहरूले चाहिँ आँसुले पनि खेले होला । कसै कसैले रगतकै पनि होली खेले होलान् । नेपालमा त्योभन्दा पनि बढी भावनासँग समेत होली खेलिन्छ । यस्तो होली त सधैं खेलिन्छ, होली पूर्णिमा पर्खन पर्दैन ।
नेपालमा अर्थोक चल्दैन, राजनीति मात्र चल्छ । किनभने यो राजनीतिप्रधान देश हो । यहाँ राजनीति पनि भावनाप्रधान छ, जसमा लहड र सनकको मात्रा टन्न छ । फेरि भावना भन्ने कुरा नै एकदम संवेदनशील हुन्छ । जब भावनाहरू आहत हुन थाल्छन्, तब बगैंचामा नयाँ नयाँ फूल फुल्न थाल्छन् । जस्तै, मौरीको घारमा ढुंगा हान्दा मौरीहरू उडेर वातावरणमा छाइहाल्छन्, त्यसैगरी जनभावनालाई आहत गरिदियो भने पनि माहोल तात्तिन्छ, बलियो वातावरण बन्छ । जानकारहरू यसलाई जनभावनासँग खेलवाड गर्नु भन्छन् । तर यो मामुली काम चैं होइन है । जनसमूहको भावनासँग खेल्न राजनीतिक दक्षता चाहिन्छ, बोल्ने कला र मीठो गला पनि चाहिन्छ । केहीले त यसलाई बुद्धिमानी काम भन्छन्, कसैले बेइमानी पनि भन्लान् । जुत्ता खानेदेखि कसम खानेसम्म, जेल जानेदेखि झेल गर्नेसम्मको सामर्थ्य चाहिन्छ ।
भावना जब जनताको हुन्छ, तब खेलवाड गर्नका लागि दूरदृष्टि र अनुभवको आवश्यकता पर्छ । धेरै दिनसम्म भावनाहरू आहत भएनन् भने यो काम पार्टीहरू आफैले नै शुरू गर्नुपर्ने हुन्छ । किनभने, अब त जनता अलि जागरुक र समझदार जो भइसकेका छन् । भावना आहत गर्ने मामलामा उनीहरू ‘शक–प्रुफ’ बन्दै गएका छन् । यो त राम्रो पनि हो । ग्यास, पेट्रोल, दाल, तेल महँगिएर यदि जनता आहत हुन थाले भने चुनावको बेलामा नेता देख्दा उनीहरूले झण्डा होइन, डण्डा उठाउन सक्छन् र भोटका लागि ‘नोट’ माग्न सक्छन् । अझ विदेशमा जस्तै मतपत्रमा ‘नो नट अगेन’ भन्ने प्रावधान भएको भए त्यै कोलममा चिह्न लगाउँथे होलान् । अहिले अर्को भावनाको लहर चलेको छ ‘पुरानो राम्रो’ । रानो नभएपछि पुरानो महक गयो भनेर रानोको महिमा गाउने रहर जागेको छ । उज्यालोमा बस्यो भने अँध्यारो प्यारो लाग्छ रे । तर अँध्यारो त अँध्यारै हो नि ? तर भावना उठेपछि सत्य कसले सुन्ने ?
तसर्थ, फर्मुला यही हो– चुनाव आउनासाथ जनभावनालाई चोट प्रहार गर वा यदि जनताको भावनामा पहिल्यै चोट पर्याप्त पुगिसकेको छ भने तुरुन्त चुनाव गर । नेताको काम भनेकै जनताको त्यही भावना आहत गराउनु हो, जुन पार्टीका लागि पनि धेरै फाइदाजनक हो । यसमा धर्मको, जातको, वर्गको, भूगोलको लगायत धेरै कुराहरूको ठूलो भूमिका हुन्छ । भावना भनेका पोल्ट्री फार्मका कुखुराझैं हुन्, जसलाई मार्नकै लागि पालिएको हुन्छ । सरकारहरू आउँछन्–जान्छन्, नेता जन्मन्छन्–मर्छन्, तर लोकतन्त्र चलिरहन जनता आहत हुने क्रम जारी रहनुपर्छ ।
हाम्रो यो महान् लोकतान्त्रिक देश भूगोल वा जनसंख्याका हिसाबले महान् नहोला । ठीकै छ त । तर हामीसँग दुई चार दर्जन दलहरू छन् । अझ नेताहरू त दुई चार लाखै होलान् । डिनर टेबलमा सबै दलहरू करीब करीब एउटै टेबलमा सँगै मिलेर खाए पनि सत्तामा भने मुख्य दुई दलहरू नै आउछन्, जान्छन् अनि फेरि आउँछन् । ती दुई ठूला दल जसलाई तपाईं टप पार्टी र गफ पार्टी पनि भन्न सक्नुहुन्छ, गफ पार्टीलाई जनभावनासँग खेल्ने मास्टरी छ, त्यसैले यो जरोदेखि नै खेल्छ । टप पार्टी भने आफ्नो पुस्तैनी दौराशुरूवाल, कोट नभए खादिको इष्टकोटमा सजिएर रुखमा रमाएर बस्छ । तर उता गफ पार्टीले जनतासँग जति गफ लगाए पनि टप पार्टीले त्यति मतलब राख्दैन । किनकि ‘भरे फेरि एकान्तमा’ डिनर सँगै गर्ने योजना बनिसकेकै हुन्छ । कहिलेकाहीँ थर्ड पार्टी पनि फुत्त म्याजिक देखाउन आउँछ । म्याजिक देखाउन नसके ट्र्याजिक चाहिँ पक्कै देखाउँछ ।
टप पार्टीको छलकपट, हानाहान र तानातानको केही अनुमन गर्न नसकिने भए पनि धर्मका विषयमा वा राजतन्त्रका विषयमा, व्यक्तिगत सम्पत्ति संरक्षणका विषयमा, सरकारी संस्थानहरू निजीकरणमा लाने विषयमा कमसेकम एउटा हदसम्म अनुमान गर्न सकिने खालको छ । तर जनता भने धर्म वा राजतन्त्रका विषयमा केही बोल्यो भने फ्याट्टै आहत भइहाल्छन् । त्यसैले टप पार्टीका लागि यो खेल सजिलो छैन । जसको भावना आहत नै हुँदैन । जस्तै, नास्तिक वा बुद्धिजीवीहरू, तिनलाई गफ पार्टीका समर्थकहरूले फेसबुक–ट्विटर–ह्वाट्सएपमा यति थुक्छन् कि उनीहरू आफ्ना झण्डा र डण्डा बोकेर कहाँ बिलाउँछन्, कसैलाई थाहै हुँदैन । मैदान सफा भइहाल्छ ।
लोकतन्त्रमा आहत भावना भनेकै सत्ताको कुर्सी अगाडिको रेड कार्पेट हो । कसैको भावना कतै आहत भयो कि यताको नेतालाई सत्ताको कुर्सीतर्फ पाइला चाल्ने अवसर आइहाल्छ । त्यो रेड कार्पेटमा हिँड्ने नेताका खुट्टा गनाउने हिलोमा चुर्लुम्म डुबेको भए पनि त्यसको वास्ता कसैलाई हुँदैन ।
उदाहरण लिऊँ न महिलाहरूकै । धेरैजसो महिलाहरूको भावना बहुकोणीय हुन्छ । उनीहरूसँग आहत हुनका लागि सयौं कोण हुन्छन्, बहाना हुन्छन् । जस्तै, एउटा कोण– श्रीमान्, सासू वा अन्य आफन्तहरूसँग आहत हुने । अर्को कोण– कसैको गाडी, साडी, राडी, गहना वा फेसन देखेर आहत हुने । यस्तै अन्य धेरै कोणहरू पनि छन् । र, आहत हुनका लागि महिलाहरू कुनै अवसर चैं छाड्दैनन् ।
बजेट आउनुअघि नै महिलाहरू आहत हुन थाल्छन् । अर्थमन्त्रीलाई यो राम्रोसँग थाहा छ । त्यसैले उनी चतुर रणनीति अपनाउँछन्, सेनेटरी प्याड, चुरा, टीका, बिन्दीलाई करमुक्त घोषणा गर्छन्, ग्यासको मूल्य चार रुपैयाँ नब्बे पैसा घटाइदिन्छन्, अनि देशभरका महिलालाई ‘तिमीहरूको भावना जोगाइयो’ भनेर एक ठूलो उपकारको टोकरी सुम्पिन्छन् । सरकारको ‘हामीले महिलाको भावना ख्याल गर्यौं’ भन्ने घोषणासँगै महिलाहरू खुशी भएर त्यो खोटो सिक्का पनि पर्समा राखेर साँच्न थाल्छन् ।
जनभावना भनेकै त्यस्तो सिक्का हो, जसको दुवैतिर टाउको अर्थात् हेड नै हुन्छ । अथवा यसरी फर्के पनि तपाईंकैै, उसरी फर्के पनि तपाईंकै । जसले जनभावना धेरै आहत गराउँदै मलम लगाउँदै गरेको देखाउन सक्यो, सत्ता उसैको हुन्छ । त्यसैले तपाईं पनि सत्तामा आउन चाहनुहुन्छ भने जनताका भावनामा खेल्न थाल्नुस्, जान्नुभएको छैन भने सिक्न थालिहाल्नुस् है ।
भावना भनेका पोल्ट्री फार्मका कुखुराझैं हुन्, जसलाई मार्नकै लागि पालिएको हुन्छ । सरकारहरू आउँछन्–जान्छन्, नेता जन्मन्छन्–मर्छन्, तर लोकतन्त्र चलिरहन जनता आहत हुने क्रम जारी रहनुपर्छ ।