काठमाडौं । निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले भद्रपुर र पोखराबाट रात्रिकालीन उडान थप गरेको छ भने भाडा समेत घटाएको जनाएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि उडान कटौती भएपछि बुद्ध एयरले कटौती भएका उडान संख्यालाई भद्रपुर तथा पोखराबाट थप उडान गर्ने भएको हो ।
पोखराबाट नेपालगञ्जको लागि सातामा ३ उडान हुने गरेकोमा अतिरिक्त ४ उडान थप्दै दैनिक उडान थालेको छ । त्यसैगरी, भद्रपुरबाट पोखराको लागि दैनिक १ उडान गर्दै आएकोमा अतिरिक्त १ उडान थप गरि दैनिक २ उडान गर्ने भएको छ ।
बुद्ध एयरले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको भाडादर समेत घटाएको छ । कम्पनीले पोखराको लागि रु. ५००, भद्रपुर तथा नेपालगञ्जका लागि १ हजार तथा जनकपुरधामका लागि रु. ८०० भाडादर घटाएको छ ।
यसैगरी काठमाडौं र पोखराबाट अन्तरराष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुद्ध एयरले हरेक फेयरमा २५ केजी लगेज पनि छूट दिएको जनाएको छ ।