वीरगञ्ज। जनकपुरको लग्मा जटही छोटी भन्सार नाकाबाट झिटीगुन्टाको सुविधा दुरुपयोग गर्दै तस्करी भइरहेको खुलासा भएको छ । भारतीय सेनाबाट निवृत्तलाई आफ्नो मालसामान ल्याउन दिइएको सहुलियतको आडमा ठूलो कपडालगायत मालसामान अवैध रूपमा भित्र्याएको पाइएपछि राजस्व अनुसन्धान कार्यालय, पथलैयाले ३४ जनाविरुद्ध उच्च अदालत जनकपुरको स्थायी इजलाश, वीरगञ्जमा अभियोगपत्र दायर गरेको हो ।
गत असोज ६ गते सो नाकाबाट जाँचपास भएर भित्रिएका एचआर ३८ जेड ४११२ र एचआर ३८ एएफ ०६३१ नम्बरको मालवाहक ट्रकमा ठूलो परिमाणमा कुर्ता शुरूवालको कपडा बरामद भएको राजस्व अनुसन्धान विभागका प्रवक्ता एवम् उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।