विश्वव्यापी रूपमा भ्रष्टाचारविरोधी अभियानमा सक्रिय ट्रान्सपरेन्सी इण्टरनेशनल (टीआई) ले बुधवार सार्वजनिक गरेको एक सर्वेक्षणमा भ्रष्टाचार हुने मुलुकमध्ये नेपाल १ सय ३९औं स्थानमा परेको छ । सर्वेक्षणको प्रतिवेदनअनुसार कुल १०० अङ्कमध्ये नेपालले २७ अङ्क प्राप्त गरेको देखाएको छ । बर्टेल्सम्यान फाउण्डेशन, विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल जष्टिस प्रोजेक्ट र ग्लोबल इनसाइटसमेत गरी पाँचओटा संस्थाद्वारा गरिएको सुशासन र भ्रष्टाचारसम्बन्धी सर्वेक्षणका आधारमा नेपालले सो अङ्क प्राप्त गरेको हो । नेपालसँगै अजरबैजान, केन्या, नाइजेरिया र पाकिस्तान पनि १ सय ३९औं स्थानमै छन् ।
२०११ मा १ सय ८३ देशमा भ्रष्टाचारसम्बन्धी अध्ययन गरिएको थियो । तर, सन् २०१२ मा भने १ सय ७६ देशमा अध्ययन गरिएको प्रतिवेदनमा उल्लेख छ । टीआईले यो वर्ष भ्रष्टाचारको अध्ययन विधिमा परिवर्तन गरेको ट्रान्सपरेन्सी इण्टरनेशनल–नेपालका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । ‘गत सालको प्रतिवेदनको अध्ययन विधि र अहिलेको अध्ययन विधि नै फरक फरक पर्ने भएकाले यसलाई पुरानो प्रतिवेदनसँग दाँजेर हेर्न मिल्दैन,’ अध्यक्ष केसीले भने ।
वर्ष ८, अंक ७८, बिहीवार २१ मङ्सिर, २०६९