चितवन। चितवन अटोमेकानिकल व्यवसायी संघ, सिजी मोटर्स र युरो मोटर्सको आयोजनामा भरतपुरमा विद्युतीय सवारीसाधन (ईभी) मर्मत सम्भारसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ । विद्युतीय
सवारीसाधनको बढ्दो माग र दक्ष प्राविधिक परिपूर्ति गर्ने उद्देश्यसहित चितवनका अटो प्राविधिकलाई एकदिने अभिमुखीकरण तालीम दिइएको हो ।
तालीमको अवसरमा युरो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले यसअघि इञ्जिन गाडी मर्मत गर्दै आएका प्राविधिकलाई विद्युतीय गाडीको मर्मत सम्भार तथा प्राविधिक ज्ञान दिने उद्देश्यसहित तालीम गरिएको बताए । ‘पछिल्लो समय ईभीको विक्री अत्यधिक छ, तर हामीसँग ईभीका प्राविधिक कम छन् । बजारमा ईभीको मागलाई पनि केही टेवा पुुगोस् भन्ने हाम्रो उद्देश्य हो,’ प्रबन्ध निर्देशक भट्टराईले भने ।
तालीममा सिजी मोटर्सका प्राविधिक प्रशिक्षक अशोक पंगेनीले प्रशिक्षण दिएका थिए । ईभी र पेट्रोलियम गाडीको फरक, ईभीको सेन्सर, फङसन, एसी, ब्याट्री, टायर लगायतका विषयमा आधारभूत तालीम दिएको पंंगेनीले बताए । चितवनका करीब ५० जना अटोमोबाइल प्राविधिकले तालीममा भाग लिएका थिए । कार्यक्रममा संघका अध्यक्ष रामबहादुर तिमिल्सिना, संस्थापक अध्यक्ष जगतबहादुर श्रेष्ठ, चितवन चेम्बर अफ कमर्सका अध्यक्ष एवं सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराई लगायतको सहभागिता थियो ।