काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले भोलि (मंगलवार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ ।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ सर्वसाधारणमा निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कुल कित्ता आईपीओमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरेपश्चात् दोस्रो चरणमा आम सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागिएको हो ।
सर्वसाधारण लगानीकर्तामा यो आईपीओ छिटोमा चैत ३ गतेसम्म निष्कासनमा रहने छ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि चैत १२ गतेसम्म निष्कासन लम्बिने जानकारी कम्पनीले दिएको छ ।
तर, आईपीओमा सर्वसाधारण लगानीकर्ताको आकर्षण बढी रहेकाले पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्था छ । यस कारण कम्पनीको आईपीओ पनि चैत ३ गतेसम्म मात्र निष्कासनमा रहने निश्चित छ ।
आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यस कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै अनलाइनमार्फत आवेदन दिन मेरो शेयरलाई प्रयोग गर्न सकिनेछ । कम्पनीको आईपीओलाई निष्कासन सम्बन्धी रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको परिचय
यो कम्पनी औषधि उत्पादन तथा वितरणसम्बन्धी कार्य गर्ने कम्पनी हो । स्थानीय स्रोत र साधानको उपयोग गर्ने गरी यो कम्पनी स्थापना भएको हो । २०७३ फागुन २४ गतेको निर्णय अनुसार कम्पनीको नाम ओमेगा फर्मास्युटिकल्स प्रा.लि.बाट ओम मेगाश्री फर्मास्युटिकल्सको नाममा संशोधन गरिएको हो । २०७९ असार ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृतिमा प्रालिबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भई यो कम्पनी सञ्चालनमा रहेको छ ।
हाल आम उपभोक्ताको बीचमा सर्वसुलभ र गुणस्तरीय औषधी पु¥याउने एवम् राष्ट्रको औषधी आयात दरलाई घटाउने उद्देश्यका साथ कम्पनी क्रियाशील छ । कम्पनीको रजिष्टर्ड कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा रहेको छ ।
पूँजी संरचना
६० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी ६० करोड रुपैयाँ नै छ । हाल कम्पनीको चुक्तापूँजी ४२ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणका लागि जारी गरिने १८ लाख कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ कायम हुनेछ । हाल ७० प्रतिशत संस्थापकतर्फको शेयर चुक्ता भएको कम्पनीको सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
वित्तीय अवस्था
यो कम्पनीको वित्तीय अवस्थालाई हेर्दा सञ्चित नोक्सानीमा रहेको देखिन्छ । आर्थिक वर्ष ०८०/८१ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी ४ करोड १३ लाख ६ हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ ।
सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ १७ पैसा र प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३० पैसा रहेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार ३ करोड ७१ लाख ७६ हजार रुपैयाँ सञ्चित नोक्सानीमा रहेको कम्पनीले चालू आर्थिक वर्षको अन्त्यसम्म सञ्चित नोक्सानी घटाएर १ करोड १३ लाख ५२ हजार रुपैयाँ कायम गर्ने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष ०८२÷८३ मा भने कम्पनीले ४ करोड ६६ लाख ६३ हजार रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।
सञ्चालक समिति
कम्पनीको नियमावलीमा संस्थापकतर्फबाट चार जना र सर्वसाधारणतर्फबाट दुई जना सञ्चालकसँगै एक जना स्वतन्त्र सञ्चालक गरी कुल सात जनाको सञ्चालक समिति हुनुपर्ने व्यवस्था छ । अर्जुन कुमार श्रेष्ठ अध्यक्ष रहेको कम्पनीको सञ्चालकहरूमा कमल पन्थी, अर्जुन प्रसाद काफ्ले, रविन्द्रराज श्रेष्ठ, नेत्रनाथ पौडेल, सिताराम जोशी र जेनी थापा मगर छन् । ५० वर्षका अध्यक्ष श्रेष्ठसँग कम्पनीको ६ लाख १५ हजार कित्ता शेयर स्वामित्व रहेको छ । सञ्चालकहरू समेत औषधी कम्पनीमा लामो समय अनुभव प्राप्त रहेका व्यक्तिहरू रहेका छन् ।
दोस्रो बजारमा पाउने पहिलो कारोबार मूल्य कति ?
यो कम्पनीले प्राथमिक बजारमा लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ जारी गरी त्यसको कारोबारका लागि धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउनेछ । कम्पनीको आईपीओ दोस्रो बजारमा कारोबारयोग्य भएपछिको मूल्य भने धितोपत्र दोस्रो बजार सञ्चालकले निर्धारण गर्नेछ ।
हाल नेपालमा सञ्चालनमा रहेको एकमात्र धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबार मूल्य तोक्ने गरेको छ ।
हालको व्यवस्था बमोजिम कुनै पनि कम्पनीको आईपीओ सूचीकृतपछि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने गरिन्छ ।
यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ १७ पैसा रहेको छ । यस आधारमा दोस्रो बजारमा सूचीकृतपछि कम्पनीको पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता ९० रुपैयाँ १७ पैसादेखि अधिकतम २७० रुपैयाँ ५१ पैसासम्मको मूल्य रेञ्ज नेप्सेले तोक्नेछ । पहिलो कारोबारपछिको मूल्य भने बजारमा लगानीकर्ताको माग र आपूर्तिका आधारमा निर्धारण हुनेछ ।