काठमाडौं । दुई लघुवित्त कम्पनीहरूले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । विद्यमान संस्थापक शेयरधनीहरूले नकिनेपछि जीवन विकास लघुवित्त र महुली लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण लगानीकर्ताका लागि संस्थापक शेयर विक्रीमा ल्याएका हुन् ।
जीवन विकासले १ लाख कित्ता र महुली लघुवित्तले ८ हजार कित्ता गरी कुल १ लाख ८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि निष्कासन गरेका हुन् ।
यी दुई कम्पनीहरूले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र प्राथमिकतामा राखेर ३५ दिने सूचना जारी गरिसकेका छन् ।
जीवन विकास लघुवित्तले विक्रीमा ल्याएको शेयरको मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी सात दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय मोरङ वा विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
महुली लघुवित्तले विक्रीमा ल्याएको शेयरको मूल्य भने विक्रेताले तोकेबमोजिम हुने उल्लेख गरेको छ । कम्पनीको शेयर खरीदका लागि आगामी सात दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा आवेदन पेश गर्नुपर्नेछ ।