काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिन (फागुन २६ गते)सम्म २० लाख ४८ हजार ५३८ जनाले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता आईपीओ खरीद माग भएको हो, जुन मागभन्दा १३ दशमलव २७ गुणा बढी हो ।
कम्पनीले यही फागुन २२ गते १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन प्राप्त भएपछि छिटो अवधिभित्र मात्र कम्पनीले आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरले हुन आउने २ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
बाँकी रहेको शेयरमध्ये पनि कम्पनीका कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता बाँडफाँट गरिसकेको जानकारी कम्पनीले दिएको छ ।
नेपाल बीमा प्राधिकरणले लघु जीवन बीमा कम्पनीको लाइसेन्स प्रदान गरेपछि २०८० जेठ ८ गतेदेखि यो कम्पनीले औपचारिकरूपमा कारोबार सञ्चालन गर्दै आएको छ ।
कम्पनीको रजिष्टर्ड कार्यालय वीरेन्द्रनगर, सुर्खेत जिल्लामा छ । केन्द्रीय कार्यालय सुर्खेत जिल्लामा रहेको कम्पनीको ललितपुर जिल्लामा प्रादेशिक कार्यालयसहित २३ ओटा शाखा तथा उपशाखा कार्यालयमार्फत नेपालभर आफ्नो सेवा विस्तार गरेको छ ।
अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँ छ । कम्पनीले नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स प्राप्त गर्दाको समयमा सर्वसाधारणका लागि ३० प्रतिशत आईपीओ जारी गर्ने शर्त राखेको थियो । हाल कम्पनीको चुक्तापूँजी ५२ करोड ५० लाख रुपैयाँ छ । संस्थापकतर्फ ७० प्रतिशत पूँजी कायम गरि अघि बढेको कम्पनीले दोस्रो वार्षिक साधारण सभा गर्नुअघि नै सर्वसाधारणमा आईपीओ जारी गरिसक्नुपर्ने बाध्यात्मक अवस्था छ ।
कम्पनी सञ्चालनको करीब दुई वर्ष हुन लाग्दा सर्वसाधारणतर्फको पूँजी कायम गराउने तयारीमा कम्पनी जुटेको हो । सर्वसाधारणतर्फको सम्पूर्ण कित्ता आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी प्राधिकरणले तोकेबमोजिम ७५ करोड रुपैयाँ कायम हुनेछ ।