काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।
फागुन २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कालीमाटी बैंक्वेट हल, कालिमाटी, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने यसअघिको निर्णयलाई संशोधन गरेको छ । यसअघि १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले त्यसलाई संशोधन गर्दै १ बराबर शून्य दशमलव ६५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।
गत जेठ २७ गतेको दशौं वार्षिक साधारण सभाबाट हाल कायम चुक्तापूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको आधारमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । अब कम्पनीले उक्त पूँजीको आधारमा ६५ प्रतिशत मात्र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सभामार्फत पारित गर्न लागेको हो ।
सभाले अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साथै लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । हकप्रद निष्कासन र कम्पनीको प्रबन्धपत्र संशोधनका लागि आवश्यक कामको समेत जिम्मेवारी सभाले सञ्चालक समितिलाई दिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा चैत ७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।