काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले आफ्नो संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर एसजेबी राणाको स्मृति र सम्मानमा "प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर: लिडरशिप, भिजन एण्ड लेगेसी" कार्यक्रम सम्पन्न गरेको छ । संघको स्थापनाको ३०औं वर्षगाँठको अवसरमा यो कार्यक्रम गरिएको हो।
संघका अध्यक्ष सुनिल केसीले स्वर्गीय राणाले नेपालको निजी क्षेत्रमा ईमान्दारिता र सत्यनिष्ठाका साथ उद्यमिता र व्यवसायिकता को नयाँ मानक स्थापना गरेको बताए । उनले नेपालको औद्योगिक विकासमा विदेशी लगानीको महत्व रहेको र यसअन्र्तगत भारतको आईटीसी, सूर्य नेपाल, भोटेकोशी हाइड्रोपावर जस्ता कम्पनीहरू स्थापना गर्न उनको भूमिका उल्लेखनीय रहेको जनाए।
संघकी निर्वाचित अध्यक्ष सिर्जना राणाले स्वर्गीय राणा नेपालको दूरदर्शी व्यवसायी थिए भन्दै पर्यटन क्षेत्रको विकासमा उनको योगदान प्रशंसनीय रहेको बताइन् । उनले होटल एसोसिएसन नेपाल र पाटा नेपाल च्याप्टरको स्थापना गरेर पर्यटन उद्योगलाई संगठित रूप दिने कार्य गरेको उल्लेख गरिन् ।
भारतीय दूतावासका उपप्रमुख प्रतिनिधि प्रसन्न श्रीवास्तवले नेपाल–भारत बीच व्यापारिक सम्बन्ध मजबुत बनाउन संघले निर्वाह गरेको भूमिका सराहनीय बताए । उनले हालै सम्पन्न द्विपक्षीय वाणिज्य सचिवस्तरीय बैठक र भुक्तानी प्रणालीमा सुधारले जनजीवनमा सकारात्मक प्रभाव पारेको बताए । साथै, संघले प्रकाशन गरेको "बिजनेस क्लाइमेट सर्भे २०२४" ले भारतीय लगानीकर्ताका लागि नेपालको वातावरण विश्लेषण गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।
स्वर्गीय प्रभाकर राणाका छोरा सिद्धार्थ शमशेर ज.ब. राणाले बुबाको व्यवसायिक नैतिकता र अन्तर्राष्ट्रिय साझेदारीमा उनको योगदानको बारेमा व्याख्या गरे। उनले बुबाले राजपरिवारसँगको निकटतालाई कहिल्यै दुरुपयोग नगरेको र अन्तर्राष्ट्रिय ब्रान्डहरू (जस्तै सोल्टी होटल) ल्याएर नेपालको होटल उद्योगमा क्रान्ति ल्याएको बताए।
अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक डा. कृष्णमुर्थि भेन्कटा सुब्रमन्यनले नैतिकतापूर्ण आर्थिक नीति र समावेशी विकासको आवश्यकता बताए। उनले भारतले नैतिक आधारमा आर्थिक प्रगति गरे जस्तै नेपालले पनि यसलाई अंगीकार गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा संघले "बिजनेस क्लाइमेट सर्भे २०२४" नामक अनुसन्धानात्मक पुस्तक सार्वजनिक गर्यो, जसले नेपालमा भारतीय लगानीको अवस्था र अवसर विश्लेषण गरेको छ।
संघका उपाध्यक्ष र सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायभरमले समापनमा उपस्थित सबैलाई आभार व्यक्त गरे। यसरी, स्वर्गीय राणाको विरासत र नेपाल–भारत आर्थिक सहयोगलाई अझै बलियो बनाउने संकल्पसहित कार्यक्रम सम्पन्न भएको थियो ।