नेपालमा निर्माण गरिएको भैहरवा विमानस्थल र पोखरा विमानस्थलले अन्तरराष्ट्रिय उडान नपाउँदा यसको ऋण कसरी तिर्ने भन्ने चिन्ता सरकारलाई थपिएको छ । यद्यपि यी विमानस्थलमा आन्तरिक उडान भने राम्रै भइरहेका छन् । चीनको ऋणमा पाकिस्तानमा बनेको ग्वादर विमानस्थलको त उद्घाटन पनि हुन सकेको छैन ।
यस्तो ठूला पूर्वाधार परियोजनाहरू असफल भएका उदाहरण विश्वमा अनेकौं छन् । अर्बौंका परियोजना प्रयोजनविहीन बनेको पाइन्छ । स्पेनले बनाएको एउटा विमानस्थल यस्तै असफलताको शिकार हुन पुग्यो जसलाई भूत विमानस्थलको उपनाम दिइएको छ ।
स्पेनको सिउदाद रियल सेन्ट्रल एयरपोर्ट ठूलो महत्त्वाकांक्षासहित निर्माण गरिएको थियो । यसले म्याड्रिड–बाराजास विमानस्थलको चाप कम गर्न र अन्तरराष्ट्रिय तथा सस्तो उडानहरूको केन्द्र बन्न सक्ने भन्ने सरकारको सोेच थियो । तर, यसको सट्टा यो विमानस्थल उडान, यात्रु वा कुनै पनि एयरलाइनले प्रयोग नगरेको ‘भूत विमानस्थल’ बन्यो । यो उड्डयन इतिहासको सबैभन्दा कुख्यात पूर्वाधार असफलताहरूमध्ये एकको रूपमा चिनिन पुग्यो । वास्तवमा भविष्यका लागि भनेर बनेको यो विमानस्थलको कुनै भविष्य थिएन ।
स्पेनको २००० को दशकमा पूर्वाधारको निर्माणलाई तीव्रता दिएको समयमा म्याड्रिडभन्दा १५० माइल दक्षिणमा अन्तरराष्ट्रिय विमानस्थल खोल्ने योजना आशाजनक देखिन्थ्यो । विमानस्थल निकै ठूलो थियो । ४ हजार मीटर लामो धावनमार्ग (यूरोपकै लामोमध्ये एक), वार्षिक रूपमा १ करोड यात्रु सम्हाल्न सक्ने टर्मिनल र ४७ हजार टन कार्गो भण्डारण गर्ने सुविधा त्यसमा थियो ।
यी सुविधाका कारण यस विमानस्थलले एयरलाइनहरूलाई आकर्षित गर्न सफल हुने अपेक्षा गरिएको थियो । तर, कसैले पनि त्यहाँबाट उडान गर्न चाहेनन् ।
विमानस्थल शहरबाट टाढा भएकाले एयरलाइनहरू र यात्रुहरूलाई आकर्षित गर्न असम्भव बनायो । म्याड्रिडकै सुविधाहरू राम्रो भएका कारण यात्रुहरू त्यहीँ बस्न रुचाए । यसलाई प्रतिस्पर्धी बनाउने कुनै द्रुत रेलसेवा वा ठूला शहरी क्षेत्रहरू नजिक थिएनन् । त्यसैले सिउदाद रियल सेन्ट्रल विमानस्थल प्रयोग गर्न असजिलो थियो । शुरूमा बजेट एयरलाइनहरू यसमा आकर्षित हुने आशा गरिएको थियो, तर त्यसो भएन ।
२०१३ सम्ममा विमानस्थल आर्थिक रूपमा पूर्णरूपमा टाट पल्टियो । ऋण चुलिँदै गएपछि यसलाई १० करोड डलर (१.६ अर्ब नेपाली रुपैयाँ) मा लिलामी गर्ने निर्णय गरियो तर कसैले पनि लिलामीमा चासो देखाएनन् ।
२०१५ मा स्थिति झन् अनौठो बन्यो, जब एक चिनियाँ लगानी कम्पनीले विमानस्थललाई मात्र १० हजार डलर (१६ लाख नेपाली रुपैयाँ) मा किन्ने प्रस्ताव राख्यो । यो भनेको त्यस विमानस्थलका लागि सोचिएको केही उडानहरूको पहिलो श्रेणीको टिकटभन्दा पनि सस्तो हो ।
स्पेनी अदालतहरूले तुरुन्तै यो सम्झौता रोकिदिए किनभने यो सम्झौतामा टर्मिनल र पार्किङ सुविधा समावेश थिएनन् । पछि २.८ करोड डलर (४.५ अर्ब नेपाली रुपैयाँ) मा विक्री गर्ने अर्को प्रयास पनि असफल भयो । अन्तत: २०१८ मा एक जना नयाँ खरीदकर्ता पाइयो जसले विमानस्थललाई ५.६२ करोड डलर (८.८ अर्ब नेपाली रुपैयाँ) मा किने । यद्यपि यो विगतका असफल सम्झौताहरूभन्दा राम्रो थियो । तर, यो अझै पनि मूल १ अर्ब डलरको लगानीको सानो अंश मात्र थियो ।
उडानहरू नभएपछि अनौठा प्रयोगहरू
नयाँ मालिक आएपछि पनि सिउदाद रियल सेन्ट्रल एयरपोर्टले कहिल्यै व्यावसायिक रूपमा सफलताको अनुभव गर्न सकेन । कोभिड–१९ महामारीको समयमा जब विश्वभरको हवाई यात्रा ठप्प भयो यो विमानस्थल पार्किङ स्थलमा परिणत भयो, जहाँ एयरलाइन्शहरूले उड्न नसकेका विमानहरू राखे । यस विमानस्थलमा फिल्म र टिभी कार्यक्रमहरू सुटिङ गरियो किनभने यसका आधुनिक तर सुनसान संरचनाहरू छायांकनका लागि उपयुक्त थिए ।
त्यसैगरी, कहिलेकाहीँ केही निजी चार्टर उडानहरू सञ्चालन भए तर यो व्यस्त व्यावसायिक केन्द्र बन्न सकेन । २०२४ मा स्पेनी सरकारले यसलाई शरणार्थी आश्रय केन्द्रमा परिणत गर्ने विचार गरेको थियो तर स्थानीय बासिन्दाले विरोध गरेपछि यो योजना पनि रद्द गरियो ।
वर्षौंसम्म पुन: प्रयोगका असफल प्रयाशहरू भए पनि सिउदाद रियल सेन्ट्रल एयरपोर्ट अझै पनि प्राय: प्रयोगविहीन छ । यो अति महत्त्वाकांक्षी पूर्वाधार परियोजनाहरूका लागि चेतावनीपूर्ण उदाहरण बनेको छ, जसले विश्वभरका नीति निर्माताहरूलाई ठूलो पाठ दिन सक्छ । नेपालले पनि आफ्ना पूर्वाधारहरू बनाउँदा त्यसको व्यावसायिक सम्भाव्यता हेर्न आवश्यक छ भन्ने सन्देश यो विमानस्थलले दिएको छ । खासगरी निजगढ विमानस्थल जस्ता पूर्वाधार यस्तै नबनून् भन्नेमा सचेत हुनुपर्छ ।
इन्डियनडिफेन्सभ्यूमा प्रकाशित सामग्रीको सहयोगमा ।