ऊर्जा मन्त्रालयले सप्तकोशी उच्चबाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजनाको अवरुद्ध अध्ययनको काम नरोक्न स्थानीय सरोकारवालासँग आग्रह गरेको छ । स्थानीय सरोकारवालाहरूसँग शुक्रवार भएको छलफलमा मन्त्रालयले त्यस्तो आग्रह गरेको हो । आयोजनाबाट हुने फाइदा र बेफाइदा अध्ययनपछि मात्र थाहा हुने हुँदा अवरोध नगर्न सरोकारवालाहरूलाई आग्रह गरिएको विद्युत् विकास विभागका महानिर्देशक अनुपकुमार उपाध्यायले अभियानलाई बताए । ‘समस्या पहिचानका लागि गर्न लागिएको अध्ययनमै अवरोध गर्नु राम्रो होइन,’ उनले भने, ‘अध्ययनले आयोजना नेपालको हितमा छ भन्ने ठहर गरेमात्र निर्माणमा जान सकिन्छ ।’
स्थानीय अधिकार गुम्ने र नेपाली भूमि बढी डुबानमा पर्ने भन्दै स्थानीय बासिन्दाले आयोजनाको अध्ययन कार्यलाई अवरोध पुर्याउँदै आएका छन् । अवरोधका कारण आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार हुन सकेको छैन ।
वर्ष ८, अंक १५०, आइतवार, ६ फागुन, २०६९