काठमाडौं। नेपाल उद्योग परिसंघले दोस्रो संस्करणको ‘वुमन लिडरशीप समिट–२०२५’ चैत ३ गते आयोजना गर्ने भएको छ । महिला उद्यमशीलताको इकोसिस्टमलाई बलियो बनाउँदै उनीहरूको नेतृत्वदायी क्षमता सशक्त बनाउने उद्देश्यले परिसंघले उक्त सम्मेलन गर्न लागेको हो ।
परिसंघले मंगलवार पत्रकार सम्मेलन आयोजना गरेर शिखर सम्मेलनका विषयमा जानकारी दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा हुने उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ । परिसंघअन्तर्गत वुमन लिडरशीप फोरमकी अध्यक्ष छाया शर्माले शिखर सम्मेलनमा विभिन्न देशबाट वक्ताहरू आउने जानकारी दिइन् । संयुक्त अरब इमिरेट्स (युएइ), जापान, भारत र बेलायतबाट सम्बद्ध क्षेत्रका वक्ताहरू आउने उनले बताइन् । ‘पछिल्लो समय उद्यमशीलतामा महिला सहभागिता बढ्दै आएको छ, अब नेतृत्वदायी क्षमता विकास आवश्यक छ, त्यसका लागि सम्मेलनले सघाउनेछ,’ उनले भने ।
पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेश अग्रवालले महिला सशक्तीकरणका लागि नेतृत्वदायी क्षमताको विकास पनि उत्तिकै आवश्यक भएको बताए । सम्मेलनमा प्रविधि र इनोभेसन, दिगो कृषिमा महिला, महिलामा लगानी जस्ता विषयमा सामूहिक छलफल हुनेछ ।
सम्मेलनमा परिवर्तन प्रेरित महिला नेतृत्व, सरकार तथा सरोकारवाला निकायहरूले लिनुपर्ने नीति लगायत विषयमा छलफल हुने अग्रवालले बताए । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणको क्षेत्रमा स्थापित, प्रभावशाली एवं राष्ट्रिय–अन्तरराष्ट्रिय स्तरमा ख्यातिप्राप्त महिलासहित करीब ५०० जनाको सहभागिता हुने परिसंघले जानकारी दिएको छ ।