काठमाडौं । उच्च अदालत पाटनले विशाल बजार कम्पनी लिमिटेडलाई वार्षिक साधारण सभा गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र ऋषि राजभण्डारीको इजलासले कम्पनीले भोलि गर्न लागेको साधारण सभा नगर्न आदेश दिएको हो ।
‘उक्त कम्पनीको शेयरधनीहरूको लगानीको मूल्यांकन नगरी निजहरूलाई अलग राखी कम्पनीको साधारण सभा सञ्चालन गर्दा निवेदकहरूको हकहितमा प्रतिकूल असर पर्न सक्ने सम्भावना रहेको तथा सुविधा सन्तुलनको सिद्धान्त समेतलाई मध्येनजर गर्दा निवेदकहरूको मागदाबी सम्बोधन गर्न कम्पनी ऐन, २०६३ को दफा १३९ (४) समेतको अनुकुल हुने नै भएको हुँदा प्रस्तुत निवेदनको अन्तिम किनारा नलागेसम्म विपक्षी विशाल बजार कम्पनीद्वारा प्रकाशित मिति २०८१/१०/२९ को सूचना बमोजिमको कार्य कार्यान्वयन नगर्नु, यथास्थितिमा राख्नु भनी विपक्षीहरूलाई जानकारी दिनू,’ आदेशमा भनिएको छ ।
गत माघ २८ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले यही फागुन २८ गते (भोलि) साधारण सभा गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट कम्पनीले एक दैनिकमा साधारण सभाबारेको सूचना प्रकाशित गरेको थियो ।
उक्त सूचना प्रकाशित भएपछि कम्पनीको निर्णयविरुद्ध किशोर लोहिया लगायतले अदालतमा रिट निवेदन दिएका थिए । निवेदकहरूका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, सतिष कृष्ण खरेल तथा अधिवक्ताहरू युवराज बन्जाडे र दीपेन्द्र झाले बहस गरेका थिए ।
साथै अदालतले विशाल बजार कम्पनी लिमिटेडलाई आदेश बदर हुनु नपर्ने आधार, कारण र प्रमाण भए सोसमेत खुलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ । सो समयावधिभित्र लिखित जवाफ नआएमा कानुनी प्रक्रियाअनुसार निर्णय गरिने उल्लेख गरिएको छ ।