काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ ।
चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने …लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनÚ कार्यक्रमका लागि यो टोली नेपाल आएको हो ।
नेपाल भ्रमणमा आएका चिनियाँ फोटोग्राफरहरूको टोलीलाई स्वागत गरिएको छ ।
यो कार्यक्रम नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवका अवसरमा गरिएको हो ।
यो कार्यक्रम नेपालको पर्यटन प्रवर्द्धनका लागि एक महत्त्वपूर्ण अवसर हुने फोरमका संयोजक डा कल्याणराज शर्माले जानकारी दिए ।
कार्यक्रमका लागि आएका चिनियाँ चर्चित फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक, तथा ऐतिहासिक स्थलहरूलाई फोटोमार्फत विश्वभर प्रवर्द्धन गर्ने बताइएको छ । उनीहरूले फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रंगमय नेपालको फोटो खिच्ने राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।