काठमाडौं। आज (बुधवार) ‘मेरोअटो अटोमोटिभ कन्क्लेभ २०८१’ आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले ललितपुरको स्क्वायर होटलमा उक्त कन्क्लेभ आयोजना गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहान ९ बजे कनक्लेभको उद्घाटन गर्दैछन् ।
नेपालको समग्र अटोमोबाइल क्षेत्रका विद्यमान समस्या, तिनको समाधानका उपाय, स्वदेशमै सवारी उत्पादनको सम्भावना र चुनौती लगायत विषयमा बृहत् छलफल गर्ने उद्देश्यले कन्क्लेभ आयोजना गरिएको बताइएको छ ।
तीन सत्रमा सञ्चालन हुने कन्क्लेभको पहिलो सत्रमा ‘निजी सवारी : आजको आवश्यकता’ विषयमा बहस हुने बताइएको छ । यो सत्रमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, अन्तरराष्ट्रिय व्यापार विशेषज्ञ रविशंकर सैंजु र काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. विराजसिंह थापा वक्ताको रूपमा रहेका छन् ।
त्यस्तै, दोस्रो सत्रमा ‘सार्वजनिक सवारी : समस्या र समाधान’ विषयमा बहस हुनेछ । यस सत्रका बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री पे्रमभक्त मर्हजन, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल, नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापा, भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्त र सीजी मोटर्सका सीईओ हेमन्त अग्रवाल वक्ता छन् ।
‘सवारी उत्पादनको नयाँ गन्तव्य’ विषयक अन्तिम सत्रमा नेकपा एमालेका सांसद योगेश भट्टराई, नेपाली काँग्रेसका सांसद उदय शमशेर राणा, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छाले धारणा राख्नेछन् ।
अटोमोटिभ कन्क्लेभ मेरोअटोको आधिकारिक फेसबुक पेज र युट्युबबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ । यस कन्क्लेभमा प्रमुख साझेदारी सिटिजन्स बैंक इन्टरनेशनल रहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बुधवार बिहान ९ बजे कनक्लेभको उद्घाटन गर्दैछन् ।