वीरगञ्ज । दिगो वन व्यवस्थापनका लागि वनजन्य स्रोतलाई स्थानीयको समृद्धिसँग जोड्नुपर्ने सरोकारका पक्षले बताएका छन् । वीरगञ्जमा मंगलवार डिभिजन वन कार्यालय पर्साले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो बताएका हुन् ।
वनलाई सम्पदामात्र नमानेर यसबाट प्राप्त हुने आय स्रोतलाई स्थानीय बासिन्दाको आय र दैनिकीसँग आवद्ध गर्न सकेमात्रै वन संरक्षण प्रभावकारी हुनेमा उनीहरूले जोड दिए । डिभिजनल वन अधिकृत मन्जुर आलमले वन र यसका स्रोतसाधनहरूको संरक्षण र सदुपयोगका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए । वन संरक्षण र यसको दिगो व्यस्थापनका लागि सम्बद्ध निकायहरूबीच प्रभावकारी समन्वयको खाँचो पनि उनले औंल्याए ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्षसमेत रहेका आर्थिक अभियानकर्मी ओमप्रकाश खनालले वन्य स्रोतलाई स्थानीयले अनुभूति गर्ने गरी आर्थिक समृद्धिको उपायमा जोड्न सक्दामात्रै व्यवस्थापन प्रभावकारी हुने बताए । वन पैदावरको सुपथ उपभोग र आयको वैज्ञानिक वितरणको माध्यमबाट संरक्षण र दिगो व्यवस्थापन सहज हुने सुझाव उनको थियो ।
दिगो वन व्यवस्थापन तथा सम्बद्र्धन प्रणाली कार्यान्वयन सुदृढीकरण सम्बन्धी ३ दिने तालिम समापनमा भएको अन्तरक्रियामा स्थानीय वन समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
तालिम समापन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख पुरनप्रसाद कुर्मीले वन क्षेत्रको व्यवस्थापन र उपयोगका लागि स्थानीय समितिको पदाधिकारीहरूको भूमिका रचनात्मक हुनुपर्नेमा जोड दिए ।