काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्ने कि नगर्ने भन्नेबारे व्यापक छलफलको आवश्यकता रहेको बताएका छन् ।
अहिलेको कानुनी व्यवस्थाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध मुद्दा दायर गरेमा ती व्यक्ति पदबाट निलम्बन हुन्छन् ।
‘आयोग (अख्तियार दुरुपयोग अनुसन्धान आयोग)ले मुद्दा दर्ता गराउनेबित्तिकै निलम्बन हुने स्थिति ठिक छ कि छैन ? अदालतले अन्तिम फैसला नगरेसम्म निलम्बन हुने व्यवस्था गर्ने कि नगर्ने ? के गर्दा उपयुक्त हुन्छ, सम्भव भएसम्म अन्य विज्ञसँग पनि राय सुझाव लिएर ऐनलाई परिमार्जित गर्नुपर्छ । विगतमा देखिएका समस्याहरूलाई व्यवस्थित गर्नेगरी गरियोस् । विधेयक परिमार्जनमा मेरो सहयोग रहन्छ,’ उनले भने ।
उनले थपे, ‘अदालतले टुंगो नलगाएसम्म टुंगिएको मानिँदैन । अदालतमा मुद्दा दायर हुनेबित्तिकै पदाधिकारी निलम्बित हुन्छ, पछि फैसला गर्दा निर्दोष ठह¥याउँछ । त्यो बीचको क्षतिपूर्ति के हुन्छ भन्ने विषय जटिल छ । मान्छे निलम्बित भयो तर, अदालतको फैसला विलम्ब भयो र मान्छे अवकाशमा गएको अवस्थामा समाधान के त ? यसको जवाफ दिने हामीले यसै ऐनमार्फत् सम्बोधन गर्नुपर्छ ।’
भ्रष्टाचार निवारण सम्बन्धमा २०५९ सालमा ऐन बनाउँदाको स्थिति र अहिले संसोधनको प्रस्ताव पेस गर्दाको स्थिति राजनीतिक र विज्ञान प्रविधिको विकासका हिसाबले धेरै फरक भएको बताउँदै अध्यक्ष प्रचण्डले बदलिँदो अवस्था अनुसार ऐनको संसोधन आवश्यक रहेको बताए ।
उनले भने, ‘२०५९ सालमा यो ऐन बनाउँदाखेरिको स्थिति र अहिले संसोधनको प्रस्ताव पेस गर्दाको स्थितिसम्म आइपुग्दा राजनीतिक परिस्थितिमा फेरबदल आएको छ । एउटा शासन प्रणालीदेखि अर्को शासन प्रणालीमा आइपुगेका छौं । अहिले संघिय लोकतान्त्रिक गणतन्त्र अनुसार पनि संसोधन आवश्यक छ।’
भ्रष्टाचार मुद्दामा हदम्याद कति समय राख्ने वा नराख्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो ।