चितवन । चितवनको भरतपुरमा रहेको भरतपुर अस्पतालले गत आर्थिक वर्ष (आव) २०८०/८१ मा ५६ करोडभन्दा बढीको स्वास्थ्य बीमा सेवा प्रवाह गरेको छ । अस्पतालले गत आवमा स्वास्थ्य बीमा भुक्तानीबापत ५६ करोड १६ लाख ८८ हजार ७५९ रुपैयाँ लिएको हो । उक्त रकम यहाँ आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी स्वास्थ्य बीमा गरेका बीमितको उपचारबापत प्राप्त भएको अस्पतालले बताएको छ ।
अस्पतालका बीमा कार्यक्रम इन्चार्ज लीलाधर पौडेलले अघिल्लो आव २०७९/८० मा स्वास्थ्य बीमा भुक्तानीबापत ५२ करोड ५० लाख रुपैयाँ लिएको बताए । अस्पतालमा स्वास्थ्य बीमाका दैनिक औसत एक हजार पाँच सय र आकस्मिक औसत ८० ओटा टिकट काट्ने गरिएको जानकारी उनले दिए ।
अस्पतालमा स्वास्थ्य बीमाअन्तर्गत उपचार गराउनेहरू वर्षेनि २ देखि ३ प्रतिशतले बढ्ने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा. कृष्णप्रसाद पौडेलले बताए । स्थानीय तहहरूले विपन्न नागरिकको नि:शुल्क स्वास्थ्य बीमा गर्न थालेपछि संख्या बढेको उनको भनाइ छ । भरतपुर अस्पताल स्वास्थ्य बीमाको प्राथमिक र रिफरल दुवै स्वास्थ्य संस्थाको रूपमा रहेको छ । अस्पतालमा पछिल्लो समय एमआरआई मेशिन, बेड संख्या र ओपिडी समय थप गरिएकाले पनि बीमाका बिरामी बढेको उनको भनाइ छ ।
अस्पतालमा २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरू गरिएको हो । स्वास्थ्य बीमा कार्यक्रमका इन्चार्ज पौडेलका अनुसार गत आवसम्ममा अस्पतालले स्वास्थ्य बीमाअन्तर्गत १४ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी नै छ । अस्पतालमा बीमा कार्यक्रम लागू भएपछि गत आवसम्ममा १ अर्ब ८८ करोड ९६ लाख ७८ हजार रुपैयाँ भुक्तानी भएको छ । चितवनसहित नवलपरासी, तनुहँ, गोरखा, मकवानपुर, धादिङलगायत जिल्लाका नागरिकले स्वास्थ्य बीमाको पहिलो सेवा बिन्दु भरतपुर अस्पताललाई बनाएका छन् ।