चितवन। ‘भरतपुर भ्रमण वर्ष २०२४’ शुरू भएसँगै चितवनका होटल व्यवसायीले चितवन आउने पर्यटकका लागि प्याकेजको व्यवस्था गरेका छन् । भ्रमण वर्षमा पर्यटकको बसाइँ लम्ब्याउन ‘प्याकेज एक र प्याकेज दुई’ नाममा प्याकेजको व्यवस्था गरेका हुन् ।
नेपाल होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेका अनुसार प्याकेज एकमा चितवनको अम्ब्रेला स्ट्रीट, बाटुली पोखरी, बीसहजारी ताल, गणेशधाम, देवघाट र नारायणी नदीकिनारको आरतीसम्म भ्रमण गराइनेछ । त्यस्तै प्याकेज दुईमा पश्चिम चितवनको लक्ष्मी वैकुण्ठनाथ मन्दिर, जेम्स वल्र्ड मुकन्देश्वर महादेव, राइनो क्रुज, ज्ञानेश्वर सामुदायिक वन, सेतीदेवी सामुदायिक वन र मेघौलीको गोलाघाटसम्म अवलोकन गराइनेछ ।
पर्यटकलाई चितवनको धार्मिक तथा पर्यटकीयस्थलका साथै दुर्लभ वन्यजन्तुको समेत अवलोकन गराउने कार्यक्रम रहेको अध्यक्ष चुकेले बताए । महानगरले निजीक्षेत्रसँगको सहकार्यमा ‘घुमौं भरतपुर’ नारासहित भ्रमण वर्ष मनाउन लागेको हो ।
भ्रमण वर्षमा भरतपुर क्षेत्रका सातओटा प्रमुख गन्तव्य र ३० भन्दा बढी पर्यटकीय गन्तव्यलाई प्राथमिकतामा राखेको उनले बताए । भ्रमण वर्षलाई लक्षित गरी दियालो बंगला सर्वसाधारणका लागि खुलाइएको छ । भ्रमण वर्षमा पाँच लाख स्वदेशी र दुई लाख विदेशी पर्यटकलाई भरतपुर घुमाउने लक्ष्य महानगरले राखेको छ ।
पश्चिम चितवनमा नारायणी र राप्ती नदीको संगमस्थल मेघौलीमा राइनो पार्क, गोलाघाट, भोजबाबा, शिवालय पार्क, संग्रहालय, सामुदायिक वन, सिमसार क्षेत्र लगायत छन् । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मेघौलीमा घाँसे मैदान र थुप्रै ताल भएकाले यो क्षेत्र दुर्लभ वन्यजन्तु र चराचुरुंगीको बासस्थानका रूपमा समेत परिचित छ ।
त्यस्तै कसरा ब्लकअन्तर्गत गोही प्रजनन केन्द्र, गिद्ध प्रजनन केन्द्र र विक्रमबाबा मन्दिर छन् । आँपटारी ब्लकअन्तर्गत दियालो बंगला, जलदेवी सामुदायिक वन, जोरकुसुम पार्क, राइनो कुञ्ज ब्लकमा बाटुली पोखरी, छितामाई, सीतामाई क्षेत्र छन् । गणेशधाम ब्लकको सामुदायिक वन, पार्क, मन्दिर, राइनो ताल ब्लकको धनगढी मन्दिर, ताल, सामुदायिक वन, सिमरी टाउन ब्लकको संग्रहालय, वन, ताल, घरवास, गाजीपुर ब्लकको सामुदायिक वन, तालका साथै वन्यजन्तु उद्धार केन्द्र, बिपी शान्ति नगर वन, महाबौद्ध गुम्बा, रानीपोखरी पार्क, नेपालको पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारीलगायत गन्तव्य छन् ।
यसैगरी टाइगर ताल, राइनो ताल, किङफिसर ताल, अठ्ठाइस हजार ताल, घैला ताल महानगरमा छन् । धार्मिकस्थलमा बागीश्वरी, हरिहर मन्दिर, मुकुन्देश्वर शिवालय, मनकामना मन्दिर, भोजबाबा र लक्ष्मीनारायण मन्दिर रहेका छन् ।