चितवन। चितवनको भरतपुर महानगरपालिकाभित्रका १२९ जना भूमिहीन दलित तथा सुकुमबासी घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा नं ११ का ११६, वडा नं १५ का ९ र वडा नं २६ का चार घरधुरीले लालपुर्जा पाएका हुन् ।
लालपुर्जा वितरण गर्दै भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानूनको व्यवस्था गर्ने बताए । अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुनखर्कलगायत क्षेत्रका बस्तीमा समस्या देखिएको भन्दै उनले यस्ता समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताए । सरकारले भूमिसम्बन्धी अध्यादेशमार्फत समस्या समाधानको उपाय खोजेको भए पनि उक्त अध्यादेश अहिले राष्ट्रियसभामा गएर अड्किएको समेत बताए ।
अध्यक्ष रिजालले जनता राज्यका शक्ति भएकाले उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा दिनु सरकारको दायित्व रहेको बताए । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सुकुमबासीलाई जग्गा दिने विषयलाई राजनीतीकरण गर्न नहुने धारणा राखिन् ।
‘सुकुमबासीलाई लालपुर्जा दिने विषयमा भरतपुरमा कुनै पनि राजनीतिक छाया देखिने छैन,’ उनले भनिन्, ‘हामी नागरिकप्रति जिम्मेवार छौं । भरतपुर महानगर जिम्मेवार छ । कानून, विधि र ऐनअनुसार यो कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’ भरतपुरमा महानगरपालिकाको तथ्यांक अनुसार महानगर क्षेत्रमा भूमिहीन दलित २ हजार ५२, भूमिहीन सुकुमबासी ३ हजार ९१७ र अव्यवस्थित बसोवासी ५ हजार २३७ गरी ११ हजार २०६ जना सुकुमबासी घरधुरी छन् ।