थापाथलीबाट त्रिपुरेश्वर लाग्दा आउने बाग्मती नदी किनारमा कालमोचन घाटसहित धेरै मठमन्दिर छन् । तीमध्ये मुगल शैलीमा बनेको एउटा भव्य मन्दिर कालमोचन परिसरमा थियो । ‘जंग–हिरण्य–हेम नारायण मन्दिर’ नामक यो मन्दिर २०७२ सालको भूकम्पले जगैदेखि भत्कियो । यसपछि पुरातत्त्व विभागले मन्दिर पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरेर २०७३ असारमा ठेक्का दिएको थियो ।
मन्दिरको पहिलो तला बनेपछि नयाँ तला छाप्न र झ्याल राख्न ठूलो परिमाणमा काठ आवश्यक प¥यो । विभाग र अन्य निजी काठ उद्योगसँग पनि पर्याप्त काठ नभएपछि २०७४ को मध्यदेखि मन्दिर पुनर्निर्माण रोकियो । मन्दिर निर्माणको ठेक्का लिएका धर्म लामाका अनुसार करीब १ वर्ष रोकिएको काम अहिले तीव्र गतिमा भइरहेको छ । ‘सत्तल तथा पेटी निर्माण र रंगरोगनमा ढिला भए पनि गजुरसहितको अन्तिम स्वरूप अबको केही महिनामै बन्नेछ,’ ठेकेदार लामाले भने । साढे दुई तलाको यो मन्दिर मुगल शैलीमै बनिरहेको छ ।
२०७३ असार २८ गते ठेक्का लगाइएको यो निर्माणको काम यसै वर्षको असारमा सम्पन्न हुने सम्झौतामा उल्लेख थियो । तर, निर्धारित मितिभन्दा ६ महीना ढिलो भइसक्दा समेत दोस्रो तलाको काम मात्र सकिएको छ । ऐतिहासिक महŒवको यो मन्दिर पुनर्निर्माणका लागि ४ करोडभन्दा बढीमा ठेक्का दिइएको थियो ।
सम्झौताअनुसार मन्दिरवरपर ढुंगाको सत्तलसहित पुनर्निर्माण गर्नुपर्नेछ । पुरातŒव विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार सत्तल बनाउन अहिले पर्याप्त ढुंगा नरहे पनि मन्दिरको काम भने समयमै सकिने छ । प्लाष्टर र रंगरोगनपछि मन्दिर पुरानै स्वरूपको हुने उनको भनाइ छ । ‘यो मन्दिरको पुनर्निर्माणलाई विभागले शुरुआतदेखि नै प्राथमिकतामा राखेको छ ।’
जंग–हिरण्य–हेम मन्दिरभित्र लक्ष्मी–नारायणको पूर्णकदका तीनओटा ढलोट मूर्ति छन् । मन्दिरअगाडि ढलोटले नै बनेको गरुडको ठूलो मूर्ति पनि छ । यस्तै, मन्दिरको अगाडि जंगबहादुरको स्तम्भमा १९३१ सालमा खोपिएको शिलालेख देख्न सकिन्छ । ढुंगाको कछुवामाथि रहेको ढुंगाकै १५ फिट अग्लो स्तम्भमाथि जंगबहादुरको पूर्णकदको शालिक छ । मन्दिरभित्रका बहुमूल्य वस्तुलाई भूकम्पछि सानो टहरा बनाएर सुरक्षित राखिएको छ । उक्त टहरामा रहेको लक्ष्मी नारायणको मूर्तिमा पुजारीले दैनिक पूजाआजा गर्दै आएका छन् । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको वार्षिक श्राद्ध पनि यसै मन्दिर परिसरमा हुँदै आएको छ ।
जंगबहादुरले १ सय ४५ वर्षअघि आफू, आफ्नी रानी र छोराको नाममा यो मन्दिर बनाएका हुन् । शक्तिमा आउन अनेक षड्यन्त्र गर्ने क्रममा जंगबहादुरले धेरै आफन्त र भाइ–भारदारको हत्या गरेका थिए । त्यही पापको मोचनका लागि उनले थापाथलीमा कालमोचन मन्दिर र घाट बनाउन लगाएका थिए । आफ्नो परिवारको नाममा लक्ष्मी–नारायण (जंग–हिरण्य–हेम)को मन्दिर बनाएर उनले मन्दिर अगाडि अग्लो स्तम्भमा आफ्नै शालिक खडा गरेका थिए । उनले आफ्नो जीवनको अन्तिम क्षणतिर यही मन्दिरमा आएर धार्मिक अनुष्ठान गरेको इतिहास पाइन्छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.