काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि भोलि (बिहीवार) संसद्मा बजेट प्रस्तुत गर्ने भएको छ । संघीय संसद् सचिवालयका अनुसार दिउँसो ३ बजे संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट पेश गर्नेछन् ।
विपक्षी दलहरूले भोलिको संसद् बैठक चल्ने दिने बताएपछि संसद्मा बजेट प्रस्तुत हुने भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् मनीष झाले जिम्मेवार प्रतिपक्षको नाताले भोलि सदन अवरुद्ध नगर्ने बताए ।
उनले भने‚ ‘बजेट पेश गर्न दिन्छौं । संसद्मा अवरोध रहने छैन । बजेटपछिका छलफल भने गृहमन्त्रीको राजीनामा नआएसम्म रोक्नेछौं ।’
त्यसअघि अर्थमन्त्री पौडेलले नै दिउँसो साढे १ बजे आर्थिक सर्वेक्षण संसद्मा टेबल गर्नेछन् । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा सरकारले बजेट ल्याउनै पर्छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै मंगलवारदेखि प्रतिपक्षी दलहरूले लगातार संसद् अवरुद्ध गर्दै आएका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि रु २० खर्ब हाराहारीको बजेट ल्याउने गृहकार्य गरिरहेको छ ।