काठमाडौं । बुधवार धितोपत्र दोस्रो बजारमा सूूचीकृत क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर कारोबार बिहीवारदेखि सुरु भएको छ । बिहीवार स्पेशल प्रि ओपनिङ सेसनमा कम्पनीको कारोबार भएसँगै नियमित सेसनमा कारोबार सुरु भएको हो । नेप्सेका अनुसार बिहीवार स्पेशल प्रि ओपनिङ सेसनमा कम्पनीको प्रतिकित्ता ३०२ रुपैयाँ ५० पैसाका दरले ३० कित्ता शेयर कारोबार भएको छ । पहिलो कारोबार मूल्यमै कम्पनीको नियमित सेसनमा कारोबार खुला भएको छ । पहिलो दिन कम्पनीको शेयरमा खरीद माग देखिएपनि विक्री माग भने शुन्य रहेको छ । कारोबारको तीन मिनेटको तथ्याङ्कलाई हेर्दा ८७ हजार ७९४ कित्ता शेयर खरीद माग भएको देखिन्छ । दोस्रो बजारमा सिआरईएसटी स्टक सिम्बोलबाट कम्पनीको शेयर कारोबार सुरु भएको हो ।
कम्पनीले कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । कुल कित्ता शेयरमध्ये संस्थापक तर्फको ५२ लाख ५० हजार कित्ता र सर्वसाधारण तर्फको २२ लाख ५० हजार कित्ता शेयर रहेको छ । संस्थापक शेयरसँगै सर्वसाधारणतर्फको शेयरमध्ये कर्मचारी र सामूहिक लगानीकोषतर्फको शेयर भने लइकनमा रहेको छ । संस्थापक र कर्मचारीतर्फको शेयर तीन वर्षका लागि र सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म लकइनमा रहनेछ । सर्वसाधारणमा कम्पनीले चैत ५ गते आईपीओ बाँडफाँट गरेको थियो ।यी वाहेक अन्य शेयर भने बिहीवारदेखि कारोबारयोग्य हुनेछ । बिहीवार स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार भएमा कम्पनीको शेयर कारोबार नियमित सेसनमा सुरु हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ ८६ पैसादेखि अधिकतम प्रतिकित्ता ३०२ रुपैयाँ ५८ पैसासम्मको मूल्य रेञ्ज तोकेको थियो । नेप्सेले तोकेको अधिकतम मूल्यमा कम्पनीको पहिलो कारोबार भएको देखिन्छ ।