विराटनगर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बीआरआई सम्झौतामा ऋण नलिएको दाबी गरेका छन् ।
उनले बीआरआईको सम्झौतालाई सकारात्मक भएको उल्लेख गर्दै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा ऋण नलिने सम्झौता भएको उल्लेख गरे । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले भने, ‘ऋण लिएको छैन । यसको मतलब बुझ्नुहोस्, ऋण लिइएको छैन ।’
सभापति देउवाले संविधान संशोधनको काम अघि बढिरहेको र सहमतिका आधारमा संविधान संशोधन हुने कुरा पनि स्पष्ट पारे । उनले भने, ‘संविधान संशोधनको प्रक्रिया संसदमा छलफ पछि दुई तिहाइ मतको आधारमा अघि बढ्नेछ ।’
संविधान संशोधनका विषयमा सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको उनले बताए । साथै, उपराष्ट्रपतिको भूमिकाबारे कुरा गर्दै उनले राष्ट्रिय सभाको अध्यक्षता उपराष्ट्रपतिको स्थानमा दिनुपर्ने बताएका छन् ।
कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशसरण महतले पनि प्रधानमन्त्रीले ऋण नलिएको कुरा स्पष्ट पारेको बताए । उनले भने, ‘ऋण भनेको वित्तीय सम्झौतामा अनुदानको कुरा पनि हुन सक्छ ।’
गगन थापालाई पार्टी सभापति बनाउने सम्भावनाबारे प्रश्नको जवाफमा देउवाले भने, ‘जहाँ पायो त्यही तपाईंहरू घोषणा गर्नुहुन्छ ?’ साथै उनले महाधिवेशन समयमै हुने दाबी गरे ।
देउवा कोशी प्रदेशको पहिलो प्रदेश सम्मेलनको उदघाटनका लागि विराटनगर आएका थिए । यस अवसरमा उनले वर्तमान सरकारबाट जनताहरू खुसी रहेको पनि उल्लेख गरे । ‘जनता खुसी छन् र विरोध गर्नु भनेको त अधिकार हो,’ उनले भने ।
यसैगरी, गृहमन्त्री रमेश लेखकले गठबन्धन आगामी ८४ वर्षसम्म टिक्ने दाबी गरे ।