काठमाडौं । नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरूको संख्या बढ्दै गए पनि सम्पत्ति तथा दायित्वको बीमांकीय मूल्यांकन (एक्चुरी भ्यालुएशन)का लागि भने विदेशीको भर पर्नुपर्ने बाध्यता छ ।
नेपालमा एक्चुरी भ्यालुएटरको अनुमति दिने संस्था नभएको र विदेशबाट लाइसेन्स पाएका जनशक्ति पलायन हुँदा नेपाली बीमा कम्पनीहरूले विदेशीबाट बीमांकीय मूल्यांकन गराउँदै आएका छन् । यसबाट वर्षेनि करोडौं रकम विदेशिने गरेको छ ।
- स्वदेशमै बस्ने अनुमतिप्राप्त बीमांकीय मूल्यांकनकर्ता एक जनामात्र
- बीमा कम्पनीहरू विदेशीबाट बीमांकीय मूल्यांकन गराउँदै
- यो प्रयोजनका लागि वार्षिक ५ करोड रुपैयाँ बाहिरिने
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदी बीमांकीय मूल्यांकन गर्ने जनशक्ति नभएको बताउँछन् । ‘हामीकहाँ स्वदेशमै बस्ने अनुमति प्राप्त बीमांकीय मूल्यांकनकर्ता एक जनामात्र हुनुहुन्छ,’ उनले भने । ‘जनशक्ति नभएपछि कम्पनीहरूले भारत, पाकिस्तान, श्रीलंका हङकङलगायत देशका एक्चुरीबाट सेवा लिनुपर्ने बाध्यता छ ।’
हाल नेपालमा १४ जीवन बीमा, १४ निर्जीवन, २ पुनर्बीमा, ४ लघु जीवन र ३ ओटा लघु निर्जीवन गरी ३७ ओटा बीमा कम्पनी सञ्चालनमा छन् । कम्पनीहरूको संख्या र व्यवसाय वृद्धि हुँदै गए पनि अहिलेसम्म बीमांकीय मूल्यांकन गर्ने जनशक्ति भने उपलब्ध हुन सकेको छैन ।
जनशक्ति अभावमा नियामक निकाय प्राधिकरणले समेत विदेशीबाट बीमांकीय मूल्यांकन परामर्श सेवा लिँदै आएको छ । गतवर्षसम्म नेपालमा रहेकी एकमात्र मूल्यांकनकर्ता प्रेक्षा माथेमालाई नियुक्ति गरेकोमा यस वर्ष भारतीय नागरिक सुब्रमण्यम् र गोपाल कुमारलाई नियुक्त गरिएको प्राधिकरणले बताएको छ ।
प्राधिकरणले बीमांकीय मूल्यांकन गर्ने जनशक्ति विकासका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्कूल अफ म्याथम्याटिक साइन्ससँग सम्झौता पनि गरेको छ ।
स्कूल अफ म्याथम्याटिक साइन्सले स्नातक तहको एक्चुरियल साइन्ससहित ब्याचलर इन म्याथम्याटिकल साइन्स कोर्षमा अध्ययन गर्न प्राधिकरणले २ जनालाई छात्रवृत्तिसमेत दिँदै आएको छ ।
स्कूल अफ म्याथम्याटिक साइन्सका प्रोग्राम कोअर्डिनेटर केशवराज फुलारा कलेजबाट उत्पादित जनशक्ति स्वदेशमा टिकाउन नसकिएको बताउँछन् । ‘कामको एस्पोजर र कमाइको हिसाबले विदेशमै आकर्षण छ,’ उनले भने । ‘त्यसैले नेपाली बजारको मागअनुसार जनशक्ति परिपूर्ति गर्न सकिएको छैन ।’
नेपालमा एक्चुरी भ्यालुएटरको लाइसेन्स दिने निकाय छैन । त्यसैले नेपाली विद्यार्थीले भारत, बेलायत र अमेरिकाबाट यस्तो लाइसेन्स लिने गरेका छन् । भारत, अमेरिकालगायत देशका बीमा कम्पनीहरूले एक्चुरी भ्यालुएटर पढ्ने विद्यार्थीलाई इन्टर्नसिप अवसर दिएर लगानी गर्ने भएकाले पनि विदेशमा आकर्षण बढेको बताइएको छ ।
नेपालमै एक्चुरी साइन्सका विद्यार्थी टिकाउन प्राधिकरणले पनि हरेक कम्पनीमा २ जना एक्चुरी विश्लेषक राख्न निर्देशन दिएको छ । ‘यसले गर्दा नेपाली विद्यार्थीले पनि काम पाउने भए, उनीहरूले आधारभूत विश्लेषण गरेपछि मान्यताप्राप्त व्यक्तिबाट परीक्षण गराउँदा कम्पनीहरूको लागत पनि कम हुन्छ,’ प्राधिकरणका निर्देशक सुवेदीले भने ।
बीमा ऐन, २०७९ मा बीमा व्यवसाय गर्ने बीमकले प्राधिकरणको स्वीकृति लिई नियुक्त गरेको बीमांकीद्वारा आफ्नो स्थिति, सम्पति दायित्व तथा वित्तीय स्थितिको मूल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको छ । बीमांकीले दिएको मूल्यांकन प्रतिवेदनको एक प्रति प्राधिकरणमा बुझाउनुपर्छ । यसैगरी बीमा नियमावली, २०८१ मा प्रत्येक आर्थिक वर्षमा कम्तीमा एकपटक बीमांकीय मूल्यांकन गर्नुपर्ने प्रावधान राखिएको छ ।
यसअघि बीमा ऐन, २०४९ मा प्रत्येक ३ वर्षमा एकपटक बीमांकीय मूल्यांकन गराउनुपर्ने व्यवस्था थियो । तर, तत्कालीन बीमा समितिले २०७१ सालमा निर्देशिका जारी गरी हरेक वर्ष बीमांकीय मूल्यांकनको व्यवस्था गरेको छ ।
निर्देशिकाअनुसार बीमकले प्रत्येक आर्थिक वर्ष सकिएको ४ महीनामै बीमांकीय मूल्यांकन गरेर त्यसको प्रतिवेदन समितिमा बुझाउनुपर्ने व्यवस्था छ । मूल्यांकनका लागि कम्पनीहरूको १० देखि १५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ, जसबापत वार्षिक ५ करोड रुपैयाँ बाहिरिने गरेको बीमकहरूको अनुमान छ ।