चैत ११, काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिले जीवन र निर्जीवन बीमा कम्पनीको पूँजी वृद्धि गर्ने निर्णय गरेको छ । समितिले बिहीवार बीमा कम्पनीहरूलाई पूँजीवृद्धिको योजनासहितको विवरण एक महीना भित्र समितिमा पेश गर्न निर्देशन दिएको छ ।
पहिले जीवन बीमाका लागि २ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि १ अर्ब रुपैयाँ चुक्तापूँजी हुनुपर्ने व्यवस्था थियो । तर, समितिले त्यसलाई बढाएर समितिले जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्न निर्देशन दिएको छ ।
पूँजी वृद्धि गर्दा जोखिम बहन गर्ने क्षमतामा वृद्धि हुने भएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने कम्पनीका सञ्चालकहरू बताउँछन् । पूँजी वृद्धि गर्ने उपयुक्त उपाय मर्जनै भएकाले अब एक अर्कासँग छलफल थालिने एक इन्स्योरेन्स कम्पनी सञ्चालकले बताए । उनका अनुसार यो नीतिले पूँजीको आधार बलियो हुन्छ ।
यो निर्देशनसँगै अब बीमा कम्पनीहरूले पूँजी पुर्याउन कि त हकप्रद शेयर जारी गर्नुपर्ने हुन्छ, कि त यो अर्काे उपयुक्त बीमा कम्पनी खोजेर मर्जरमा जानु पर्ने हुन्छ । हकप्रद शेयर जारी गर्दा कम्पनीको चुक्तापूँजी त तोकिए जति पुग्ला तर, व्यवसाय विस्तार गर्न नसके त्यसको प्रभाव दीर्घकालमा शेयरधनीलाई पर्ने विश्लेक बताउँछन् । यसअघि बैंकहरूको पूँजी वृद्धिको नीतिले बैंकहरूले राम्रो प्रतिफल दिन नसकेको उदाहरण दिँदै शेयर विश्लेषक विष्णुप्रसाद बस्यालले पूँजी वृद्धि के का लागि गरिएको हो त्यो कुरामा लगानीकर्ता स्पष्ट हुनुपर्ने बताए ।
अहिलेका लगानीकर्ता हचुवाको भरमा लगानी गर्दा पछि फस्ने सम्भावना बढ्ने उनी बताउँछन् । बीमा कम्पनीको व्यवसाय विस्तार कस्तो छ, त्यसले प्रतिफलमा प्रभाव पार्ने हुँदा पूँजी वृद्धिकै कारण शेयर किन्न होड बाजी थाप्नु उपयुक्त नहुँने उनको भनाइ छ । ‘अहिलेका लगानीकर्ताको प्रवृति हेर्दा कुुनै कम्पनीले हकप्रद ल्याउँने भयो वा बोनस दिने भयो भने त्यसको शेयर किन्न होड बाजी गर्ने गरेको पाइन्छ । कतिपयले त यो मेरो कमाइ हो भनेर पनि भन्छन् । यसको फाइदा ट्रेडर्सहरूले लिएका हुन्छन् ।’ उनले भने, ‘पुँजी वृद्धि गर्नका लागि आधार हुनुपर्छ । व्यवसाय ठूलो छ, अहिलेको पूँजीले व्यवसाय गर्न पुगेको छैन् भने पुँजी वृद्धि हुर्न पर्छ । व्यवसाय विस्तार पनि नगर्ने हकप्रद शेयर जारी गर्न र त्यो पैसा कम्पनीमा मात्र थुप्रिराख्ने हो भने हकप्रदको कुनै अर्थ छैन् ।’
व्यवसाय विस्तार गर्न नसकेका कम्पनीको हकप्रद किन्न नहुने बस्याल बताउछन् । पूँजी वृद्धि गर्दा प्रतिशेयर आम्दानी घट्ने हुँदा कम्पनीको व्यवसाय विस्तारलाई लगानीकर्ताले ध्यान दिनुपर्ने उनको भनाइ छ । अहिले बीमा कम्पनीहरूलाई हकप्रद शेयर निष्कासन गर्न नदिने नीति छ ।
समितिले कायम गर्नु भनेको चुक्तापूँजीभन्दा बढी नेपाल लाइफको छ । यो कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड रुपैयाँ कायम छ । कम्पनीहरूको दोस्रो त्रैमासिक वित्तीय विवरण हेर्दा नेपाल लाइफबाहेक अरूको कम्पनीको हाल कायम चुक्तापुँजीमा धेरै थप गर्नुपर्ने देखिन्छ ।
अहिले समितिले कायम गर्नु भनेको चुक्तापूँजीको नजिक–नजिक नेशनल लाइफ इन्स्योरेन्स मात्र पुगेको छ । यो कम्पनीको दोस्रो त्रैमाससम्मको चुक्तापूँजी ४ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । यो कम्पनीले हाल कायम चुक्तापूँजीमा २३ प्रतिशत मात्र पूँजी वृद्धि गरे पुग्ने देखिन्छ ।