काठमाडौं । नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशमा विक्री गर्न बिहीवार (आज) नेपाल, भारत र बंगलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता हुँदै छ । यो सम्झौताले नेपाललाई पहिलोपल्ट भारतबाहेक तेस्रो मुलुकमा बिजुली निर्यात गर्ने बाटो खोल्नेछ ।
नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच बिहीवार दिउँसो सम्झौता हुने कार्यक्रम तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।
‘बिहीवार दिउँसो नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशको अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवानाको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)का प्रमुख कार्यकारीहरूले सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ,’ ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले आर्थिक अभियानसँग भने ।
त्रिपक्षीय सम्झौतापछि नेपालले वर्षायामका ५ महीना (हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म) प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टको दरमा भारतीय प्रसारण लाइन हुँदै दैनिक ४० मेगावाटका दरले बंगलादेशलाई विद्युत् बेच्नेछ ।
नेपालले ५ महीनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात गर्नेछ । यसबाट नेपालले ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी गर्ने प्राधिकरणले बताउँदै आएको छ ।सम्झौताका लागि दुवै देशका अधिकारीहरू काठमाडौं आइसकेको चटौतले जानकारी दिए । उनका अनुसार यसअघि मंगलवार बंगलादेश र नेपालको ऊर्जा सहसचिवस्तरीय बैठक बसेको थियो । बुधवार सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्यो । उक्त बैठकमा पनि बंगलादेशमा बिजुली निर्यातका लागि बिहीवार त्रिपक्षीय सम्झौता गर्ने सहमति भएको मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यो सम्झौता साउनको मध्यतिरै गर्ने कार्यक्रम तय भएकोमा बंगलादेशमा भएको राजनीतिक उथलपुथलले रोकिएको थियो । व्यापक विरोध प्रदर्शनबीच तत्कालीन बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले भारतमा शरण लिएपछि हाल बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार छ । रोकिएको त्रिपक्षीय सम्झौता नयाँ सरकार आएपछि हुन लागेको हो । दुई देशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रशारण लाइनको प्राविधिक तथा आर्थिक पक्षको अध्ययन गर्न दुई पक्ष सहमत भएका छन् । बंगलादेशले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको बिजुली आयातका लागि बंगलादेश पावर डेभलपमेन्ट बोर्ड, जीएमआर इन्डियाबीच हुने सम्झौताबारे पनि बैठकमा नेपाली पक्षलाई जानकारी गराएको मन्त्रालयको भनाइ छ ।
सुनकोशी तेस्रो त्रिपक्षीय सहकार्यमा बनाइने
नेपाल र बंगलादेशले संयुक्तरूपमा बनाउने भनिएको सुनकोशी तेस्रो जलविद्युत् आयोजनामा भारतलाई पनि सहभागी गराउन नेपाल र बंगलादेश राजी भएका छन् । नेपाल र बंगलादेशका ऊर्जासचिव स्तरीय संयन्त्र– संयुक्त निर्देशक समितिको बैठकले ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत् परियोजना तीन देशबीचको सहकार्यमा बनाउने सहमति गरेको ऊर्जा मन्त्रालयले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारत पनि परियोजना निर्माणमा संलग्न भए त्यसबाट उत्पादित बिजुली बंगलादेश निर्यात गर्न सहज हुने बुझाइबीच त्रिपक्षीय परियोजनाका रूपमा यसलाई अघि बढाउने विषयमा नेपाल र बंगलादेशबीच छलफल भइरहेको थियो । बुधवारको बैठकमा दुवै देशले यो परियोजनाको बिजुली बंगलादेश निर्यातको सुनिश्चितताको लागि भारतलाई अनुरोध गर्ने समझदारी पनि भएको मन्त्रालयले बताएको छ ।
यसअघि नेपाल र बंगलादेशले संयुक्त उपक्रम सम्झौतामा हस्ताक्षर गर्ने र त्यसमा भारतलाई पनि सामेल गराउन बाटो खुला राख्ने समझदारी भएको थियो । यो परियोजना विकास गर्न संयुक्त उपक्रम कम्पनी खोल्न नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच हुने भनिएको सयुक्त उपक्रम सम्झौताबारे अर्को बैठकमा निर्णय लिइने समझदारी भएको ऊर्जा मन्त्रालयले बताएको छ ।