काठमाडौं । बंगलादेशमा विद्युत् निर्यातको लागि नेपाल, भारत र बंगलादेशबीच बिहीवार (आज) त्रिपक्षीय सम्झौता भएको छ । यससँगै नेपाललाई पहिलोपल्ट भारतबाहेक तेस्रो मुलुकमा बिजुली निर्यात गर्न राज्यस्तरबाटै बाटो खुलेको हो । सम्झौतासँगै पहिलो चरणमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने पक्का भएको छ ।
नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशको अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवानाको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)का प्रमुख कार्यकारीहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेपालले वर्षायामका ५ महीना (हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म) प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टको दरमा भारतीय प्रसारण लाइन हुँदै दैनिक ४० मेगावाटका दरले बंगलादेशलाई विद्युत् बेच्ने भएको छ ।
सम्झौतापत्रमा नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको तर्फबाट एनटीपीसी विद्युत् व्यापार निगमकी प्रमुख कार्यकारी अधिकृत रेणु नारङ तथा बंगलादेशको तर्फबाट बंगलादेश पावर डिभलपमेन्ट बोर्ड अध्यक्ष मोहमद रेजुल करिमले हस्ताक्षर गरेका छन् ।