काठमाडौं । बंगलादेश पावर डेभलपमेन्ट बोर्डले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरीद–विक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेपछि पहिलोपल्ट भारतबाहेक तेस्रो देशमा नेपालको बिजुली निर्यात गर्ने बाटो खुलेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले वर्षायामको ६ महीना ४० मेगावाट विद्युत् विक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बद्ध निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत् विक्री सम्झौताका लागि सोमवार पत्राचार गरेको हो ।
बंगलादेशी कानूनअनुसार भएको व्यवस्थाबमोजिम बीपीडीबीले २०८० पुस १६ मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरूबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी ५ वर्षसम्म खरीदका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो ।
प्राधिकरणले विद्युत् विक्रीका लागि तोकिएको ढाँचामा विक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेश गरेको थियो । पेश गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्यांकन गरी त्यसलाई सम्बद्ध निकायबाट स्वीकृत भएको जानकारी बीपीडीबीले दिएको प्राधिकरणले मंगलवार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार उसले अब ७ कार्य दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना बीपीडीबीलाई दिनुपर्ने छ । त्यसपछि बीपीडीबीले विद्युत् विक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउनेछ । मस्यौदा प्राप्त भएको २८ दिनभित्र सम्झौता गर्नुपर्नेछ । प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ ।
‘यस्तो सम्झौता नेपाल र बंगलादेशबीच हुने भनिएको ऊर्जा मन्त्रालयका सहसचिव र सचिवस्तरीय संयन्त्रको नेपालमा हुने बैठकमा गरिने समझदारी भए पनि बैठक कहिले हुने टुंगो लागेको छैन,’ ऊर्जा मन्त्रालयका प्रवक्ता नवीन सिंहले आर्थिक अभियानसँग भने । असारको दोस्रो हप्ता सहसचिवस्तरीय जोइन्ट वर्किङ ग्रूप र सचिवस्तरीय जोइन्ट स्टेरिङ कमिटी बैठक पोखरामा हुने लगभग निश्चित भए पनि बंगलादेशको तर्फबाट सार्ने प्रस्ताव आएको नेपाली अधिकारीहरूले बताएका छन् । त्यसपछि नेपालमा पनि राजनीतिक स्थिति परिवर्तन भयो र हाल नयाँ बैठकको टुंगो नलागेको सिंहले बताए । तैपनि प्राधिकरणले विद्युत् निर्यातका लागि आवश्यक तयारी गरिसकेको बताएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी रहेका सम्पूर्ण प्रक्रिया पूरा गरी यही वर्षायामबाट बंगलादेशमा बिजुली निर्यात गर्ने गरी काम शुरू गरिसकिएको बताए ।
‘त्रिपक्षीय विद्युत् विक्री सम्झौताको मस्यौदामा तीनै निकाय सहमत भइसकेकाले छिट्टै सम्झौता हुनेछ,’ उनले भने, ‘त्यसपछि बंगलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाउँछौं । नयाँ आयोजना पठाउँदा स्वीकृतिका लागि समय लाग्ने हुँदा यसअघि नै भारतमा विद्युत् निर्यात स्वीकृति पाइसकेका आयोजनाहरूबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने गरी प्रस्ताव स्वीकृतिका लागि पठाउनेछौं ।’
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् ।
प्राधिकरणले वर्षायामको ६ महीना (हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म) ५ वर्ष ४० मेगावाट बिजुली अमेरिकी डलरमा भुक्तानी हुने गरी बंगलादेशलाई विक्री गर्नेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् विक्री गरी प्रतियुनिट ६ दशमलव ४ अमेरिकी सेन्ट पाउनेछ ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मीटर मुजफ्फरपुरमा रहनेछ ।
ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ । घिसिङका अनुसार मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएनले लिने ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्नेछ । उनले बंगलादेशको सीमासम्म पुग्दा विद्युत्को प्रतियुनिट दर करीब ७ दशमलव ६ सेन्ट पुग्ने उल्लेख गरे ।
‘हामीले मुजफ्फरपुर बिन्दुमा ६ दशमलव ४ सेन्ट पाउने हो, अमेरिकी डलरमा भुक्तानी पाउने हुँदा मुद्रा सटहीको जोखिम हुँदैन । वर्षायामको विद्युत् विक्रीका लागि हामीले पाएको दर उचित हो,’ उनले भने, ‘सरकार–सरकार तहमा बंगलादेशसँग सांकेतिक रूपमा पहिलो चरणमा हुन लागेको विद्युत् व्यापारले एकातर्फ आगामी दिनमा क्षेत्रीयरूपमा ठूलो परिमाणको व्यापारलाई सहयोग र सहजीकरण गर्नेछ भने अर्कोतर्फ यसले विद्युत् व्यापारका अरू धेरै बाटा खुलाउनेछ ।’ प्राधिकरणबाट गत सातामात्र अवकाश पाएका तत्कालीन उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेले तत्काल ४० मेगावाट मात्र बंगलादेश निर्यात भए पनि नेपालका लागि बंगलादेश पनि बजार हो भन्ने सन्देश गएको बताए । ‘यसबाट दक्षिण एशियामा नेपालका लागि क्षेत्रीय बजार खुल्ने र बंगलादेशबाट नेपालको जलविद्युत् क्षेत्रमा लगानीको सम्भावना बढ्नेछ,’ उनले भने ।
नेपाल र बंगलादेश ६८३ मेगावाट क्षमताको सुनकोशी ३ जलविद्युत् आयोजना संयुक्त रूपमा बनाउन अघि सरेका छन् । छिट्टै हुने भनिएको द्विपक्षीय संयन्त्रको बैठकमा यो आयोजना विकास गर्न संयुक्त उपक्रम बनाउने समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना रहेको ऊर्जा मन्त्रालयका अधिकारीहरूको भनाइ छ । ‘तर, ठूलो मात्रामा बंगलादेशमा बिजुली निर्यात गर्न भने कि त भारतले आफ्नो प्रसारण लाइनको क्षमता विस्तार गरी नेपाल र बंगलादेशलाई बिजुली प्रसारणको लागि बाटो दिनुपर्छ, कि भारतको सहयोगमा नेपाल र बंगलादेशबीच बिजुली किनबेचका लागि डेडिकेटेड प्रसारण लाइन बनाउनुपर्छ,’ थिकेले भने ।