काठमाडौं । बंगलादेशमा जारी हिंसात्मक आन्दोलनका कारण बिजुली खरीदविक्रीका लागि बंगलादेश र नेपालबीच साउन १३ (आज) मा हुने भनिएको सम्झौताको कार्यक्रम स्थगित भएपछि यसै वर्ष बिजुली बंगलादेश निर्यात हुनेमा सन्देह उत्पन्न भएको छ ।
यो सम्झौतामा हस्ताक्षर भएपछि नेपाललाई पहिलोपल्ट भारतबाहेक तेस्रो देशमा बिजुली निर्यात गर्ने बाटो खुल्नेछ । सन् २०२१ देखि नेपालले भारतमा प्रतिस्पर्धात्मक विधिबाट बिजुली निर्यात गर्दै आएको छ ।
नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीच साउन १३ गते त्रिपक्षीय सम्झौता हुने तय भएको थियो । सम्झौताले ५ वर्षसम्म प्राधिकरणले वर्षायामको ६ महीना (हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म) ४० मेगावाट बिजुली प्रतियुनिट ६ दशमलव ४ अमेरिकी सेन्टका दरले बंगलादेशलाई बेच्ने बाटो खोल्ने प्राधिकरणले जानकारी दिएको छ ।
तर, मुलुकमा जारी विद्यार्थी आन्दोलनलाई देखाउँदै सम्झौताका लागि बंगलादेशी सरकारी टोली आउन नसक्ने जानकारी ढाकाबाट आएपछि तत्काल बंगलादेशमा बिजुली निर्यात गर्ने प्राधिकरणको योजनामा धक्का लागेको छ । ‘सम्झौता अनिश्चितकालका लागि सरेको छ,’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले आर्थिक अभियानसँग भने, ‘आन्दोलनको कारण देखाउँदै बंगलादेशले नेपाली दूतावासलाई सम्झौताका लागि आउन नसक्ने जानकारी गराएको छ ।’
सिंहका अनुसार बंगलादेशमा आन्दोलन जारी रहेकाले सम्झौता कहिले हुन्छ, तत्काल भन्न सकिँदैन । ‘आन्दोलन रोकिएपछि सम्झौताका लागि आउने भए पनि आवश्यक तयारी गर्न १ महीनाजति समय लाग्न सक्छ,’ उनले भने । सिंहका अनुसार ऊर्जामन्त्री दीपक खड्काको निमन्त्रणामा सम्झौताका लागि बंगलादेश सरकारका तर्फबाट ऊर्जामन्त्री तथा भारत सरकारका तर्फबाट ऊर्जामन्त्री र ऊर्जासचिव आउने कार्यक्रम तय भएको थियो ।
सम्झौता भएलगत्तै बंगलादेश बिजुली निर्यात गर्न चाहिरहेको प्राधिकरणले अब थप समय कुर्नुपर्ने भएको छ । नेपालले मध्यजेठबाट भारतमा बिजुली निर्यात गरिरहेको छ ।
वर्षायाम घर्किंदै गएको बेला छिटो त्रिपक्षीय सम्झौता गर्न नसके यो वर्षामा बंगलादेश बिजुली निर्यात गर्ने अवसर गुम्ने चिन्ता प्राधिकरणलाई थपिएको छ । ‘सम्झौता कहिले हुने भन्ने कुरा हाम्रो हातमा छैन,’ प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने, ‘हाम्रो चाहना छिटोभन्दा छिटो बिजुली बेच्न पाइयोस् भन्ने हो तर लामो अवधिका लागि सम्झौता हुने भएकोले १–२ महीना तलमाथि हुँदैमा धेरै चिन्तित हुनु जरुरी पनि छैन ।’ मन्त्रालयका अनुसार सम्झौतापछि प्रतिमहीना २८ हजार ८०० मेगावाट आवर बिजुली बंगलादेश निर्यात हुनेछ । आगामी ५ महीनामा जम्मा १ लाख ४४ हजार मेगावाट आवर बिजुली बंगलादेश निर्यात हुनेछ । त्यसबाट ५ महीनामा १ अर्ब २३ करोड रुपैयाँ प्राधिकरणले आम्दानी गर्नेछ ।
त्रिपक्षीय सम्झौतासँगै साउन १४ र १५ गते नेपाल र बंगलादेशबीच पोखरामा हुने तय भएको ऊर्जासम्बन्धी द्विपक्षीय उच्चस्तरीय संयन्त्रको बैठक पनि स्थगित भएको सिंहले जानकारी दिए । सहसचिवस्तरीय जोइन्ट वर्किङ ग्रूपको बैठक साउन १४ गते र सचिवस्तरीय जोइन्ट स्टेरिङ कमिटीको बैठक साउन १५ गते हुन तय भएको थियो ।
उक्त द्विपक्षीय संयन्त्रको बैठकमा ६८३ मेगावाट क्षमताको सुनकोशी ३ जलविद्युत् आयोजना संयुक्त रूपमा बनाउन संयुक्त उपक्रम बनाउनेसम्बन्धी सम्झौतामा छलफल वा हस्ताक्षर हुने कार्यक्रम थियो । सिंहले यसअघि आर्थिक अभियानलाई बताएअनुसार नेपालले सम्झौताको मस्यौदा बंगलादेशलाई पठाइसकेका छ । विगतको द्विपक्षीय वार्तामा संयुक्त उपक्रमबारेको सम्झौता प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच हुने छलफल भएको थियो । घोषका अनुसार सम्झौता हुने टुंगो लागिसकेको छैन । ‘तर, बंगलादेश यो परियोजना बनाउन इच्छुक छ,’ उनले भने ।