काठमाडौं । नेपालको ४० मेगावाट विजुली बंगलादेश निर्यात गर्न साउन १३ मा त्रिपक्षीय सम्झौता हुने उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले जनाएको छ ।
उक्त सम्झौतामा हस्ताक्षर भएपछि नेपाललाई पहिलोपल्ट भारतबाहेक तेस्रो देशमा बिजुली निर्यात गर्ने बाटो खुल्नेछ । सन् २०२१ देखि नेपालले भारतमा प्रतिस्पर्धात्मक विधिवाट बिजुली निर्यात गर्दै आएको छ ।
‘नेपाल विद्युत प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीच साउन १३ (जुलाई २८) मा त्रिपक्षीय सम्झौता हुने तय भएको छ,’ मन्त्रालयका प्रवक्ता नविनराज सिंहले आर्थिक अभियानलाई बताए ।
‘यो ऐतिहासिक क्षण भएकोले उर्जा मन्त्री दिपक खड्काले भारतीय र बंगलादेशी उर्जा मन्त्रीलाई सम्झौताको हस्ताक्षर कार्यक्रमका सहभागी हुन पनि बुधवार नै चिठी लेख्नु भएको छ ।’
प्राधिकरणले केही महिना अघि देखि नेपालवाट बिजुली निर्यात सम्वन्धमा बंगलादेश सरकारको निर्णय पर्खिरहेको थियो ।
गत हप्ता बंगलादेश पावर डेभलपमेन्ट बोर्डले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरीद–विक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको थियो । त्यसपछि त्रिपक्षीय संयोजनको आधारमा त्रिपक्षीय हस्ताक्षरको मिति टुङ्गो लागेको मन्त्रालयले जनाएको छ ।
प्राधिकरणका अनुसार प्राधिकरणले वर्षायामको ६ महीना (हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म) ५ वर्ष ४० मेगावाट बिजुली अमेरिकी डलरमा भुक्तानी हुने गरी बंगलादेशलाई विक्री गर्नेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् विक्री गरी प्रतियुनिट ६ दशमलव ४ अमेरिकी सेन्ट पाउनेछ ।
मन्त्रालयका अनुसार प्रति महिना २८ हजार ८०० मेगावाट आवर बिजुली प्रति महिना बंगलादेश निर्यात हुनेछ । आगामी पाँच महिनामा जम्मा १ लाख ४४ हजार मेगावाट आवर बिजुली बंगलादेश निर्यात हुनेछ । जसवाट पाँच महिनामा १ अर्व २३ करोड रुपैयाँ बरावर नेपालमा आम्दानी गर्नेछ । यसैविच नेपाल र बंगलादेशविच उर्जा सम्वन्धी द्विपक्षीय उच्चस्तरीय संयन्त्र बैठक पनि साउन १४ र १५ गते पोखरामा हुने तय भएको सिंहले बताए । उनका अनुसार सहसचिव स्तरीय जोईन्ट वर्किङ ग्रुपको बैठक साउन १४ गते र सचिवस्तरीय जोईन्ट स्टिरिङ कमिटीको बैठक साउन १५ गते हुन तय भएको छ ।
उक्त द्विपक्षीय संयन्त्र बैठकमा ६८३ मेगावाट क्षमताको सुनकोशी ३ जलविद्युत् आयोजना संयुक्त रूपमा बनाउन लागि सँयुक्त उपक्रम बनाउने सम्वन्धी सम्झातौमा हस्ताक्षर हुनसक्ने पनि सिंहले बताए । ‘हामीले सम्झातौको मस्यौदा बंगलादेशलाई पठाईसकेका छौ । बैठक अघि उताबाट सहमति प्राप्त भए सम्झौतामा हस्ताक्षर हुनेछ । नत्र यसवारेमा थप छलफल मात्र हुनेछ ।’