काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीचको विद्युत् विक्री वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ । आगागी वर्षाबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई पक्षबीच जतिसक्दो छिटो विद्युत् खरीदविक्री सम्झौता गर्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बीपीडीबीअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच बिहीवार बंगलादेशको राजधानी ढाकामा वार्ता भएको प्राधिकरणले जानकारी दिएको छ । विद्युत् विक्री सम्झौतामा राखिने हरेक बुँदामा विस्तृत छलफल भएको र यसलाई अन्तिम रूप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उद्धृत गर्दै प्राधिकरणले जानकारी दिएको छ ।
‘बीपीडीबीले त्यहाँको नियम कानूनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत् विक्रीको परिणामसहितको बोलपत्र पेश गरेका थियौं, हामीले पेश गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदामा विस्तृत रूपमा छलफल गर्यौं,’ घिसिङले भनेका छन्, ‘उहाँहरूले पनि माथिल्लो निकायबाट स्वीकृति लिनुपर्ने रहेछ र स्वीकृतिलगायत प्रक्रिया जतिसक्दो छिटो सम्पन्न गरेर आगामी वर्षायामबाटै नेपालबाट विद्युत् खरीद गर्ने गरी सम्झौता गर्ने सहमति जुटेको छ ।’ प्राधिकरणले यसै हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाटसम्म विद्युत् निर्यातका लागि बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ ।
विद्युत् खरीदविक्री सम्झौता ५ वर्षका लागि गर्न लागिएको छ । नेपालले ढल्केवर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरामपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत् निर्यात गर्ने गरी सम्झौता हुने प्राधिकरणले जानकारी दिएको छ । बंगलादेशलाई बेच्ने बिजुलीको मूल्यबारे अहिले केही भन्न नसकिने प्राधिकरणका अधिकारी बताउँछन् । अहिलेको मुख्य विषय मूल्य नै भए पनि त्यसमा बोल्न नमिल्ने र मूल्यको कुरा अहिले नै बाहिर आए वार्तामा असर पर्ने प्राधिकरणका एक उच्च अधिकारीले बताए । प्राधिकरणले प्रस्ताव गरेको दर महँगो भएको बंगलादेशी ऊर्जाविज्ञलाई उद्धृत गर्दै त्यहाँबाट प्रकाशित हुने डेली अब्जर्भर पत्रिकाले लेखेको छ । बंगलादेशी ऊर्जाविज्ञहरुले नेपालसँग हुने ऊर्जा खरीद सम्झौतामा थप सतर्क हुनुपर्ने समेत बताएका छन् । उनीहरू भविष्यमा नेपालबाट थप ऊर्जा आयात गर्न सकिने सम्भावना रहेको र पहिलो सम्झौता भविष्यका महशुल वार्तामा नजीर बन्ने भएकाले थप सतर्क हुन आवश्यक ठान्छन् ।