काठमाडौं । ऊर्जा सम्बन्धमा नेपाल–बंगलादेशबीच रहेका दुईओटा उच्चस्तरीय संयुक्त संयन्त्रको बैठक सरेको छ । यसअघि असार ९ र १० गते पोखरामा हुने भनिएको उक्त बैठक बंगलादेश सरकारले सार्न आग्रह गरेपछि त्यो मितिमा नहुने पक्का भएको हो ।
दुई देशबीच ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय जोइन्ट वर्किङ ग्रुप (जेडब्लुजी) र सचिवस्तरीय जोइन्ट स्टेरिङ कमिटी (जेएससी) रहेका छन् । गतवर्ष बंगलादेशमा भएको यी संयन्त्रहरूको बैठक यो वर्ष नेपालमा हुन लागेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीन सिंहले यसअघि बैठकका लागि तय भएको मितिमा बंगलादेशको ऊर्जासचिव स्तरीय टोलीले केही समय ढिलाइ हुन सक्ने बताएपछि मिति सार्नुपरेको बताए । ‘मिति सरेपछि पुन: बंगलादेशबाट औपचारिक रूपमा पत्र प्राप्त हुन केही दिन लाग्न सक्छ । त्यसैले यही मितिमा बैठक हुन्छ भन्ने यकीन नभए पनि असार तेस्रो सातासम्म हुन सक्छ,’ उनले आर्थिक अभियानसँग भने ।
नेपाल र बंगलादेशबीचको बैठकपछि भारतको बाटो हुँदै बंगलादेशसम्म विद्युत् लैजान नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय सम्झौता हुनेछ । भारतको प्रसारणलाइन प्रयोग गर्नुपर्ने भएकाले यस्तो सम्झौता हुने भएको हो ।
यी दुईओटा संयन्त्रको बैठकमा ४० मेगावाट बिजुली नेपालबाट बंगलादेशलाई विक्री गर्ने विषयमा सम्झौता हुन सक्ने नेपाली अधिकारीहरूले बताएका छन् । त्यसैगरी दुई देशबीच ६ सय ८३ मेगावाट क्षमताको सुनकोशी ३ जलविद्युत् आयोजना बनाउन संयुक्त उपक्रम समझदारीपत्रमा हस्ताक्षर समेत हुन सक्ने बताइएको छ ।
यसअघि मंगलवार बंगलादेशका अर्थमन्त्री अबुल हसन महमुद अलीको संयोजकत्वमा बसेको खरीद कमिटीको बैठकले नेपालबाट ५ वर्षसम्म ४० मेगावाट बिजुली खरीद गर्ने निर्णय गरेको थियो । बंगलादेशले नेपालबाट प्रतियुनिट ८ दशमलव १७ बंगलादेशी टाका (९ रुपैयाँ ३० पैसा)मा विद्युत् खरीद गर्ने बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि बंगलादेशले प्रसारण लाइन प्रयोगबापत भारतलाई शुल्क तिर्नुपर्ने भए पनि मूल्य कति हुने भन्ने अझै तय भइनसकेको बंगलादेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
नेपाल र बंगलादेशबीचको बैठकपश्चात् भारतको बाटो हुँदै बंगलादेशसम्म विद्युत् लैजान नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय सम्झौता हुनेछ । भारतको प्रसारणलाइन प्रयोग गर्नुपर्ने भएकाले यस्तो सम्झौता हुने भएको हो । त्रिपक्षीय सम्झौताका लागि भारतले समेत ‘ग्रीन सिग्नल’ दिइसकेको छ ।
सुनकोशी ३ परियोजना दुई देशले संयुक्त रूपमा बनाउने विषयमा लामो समयदेखि छलफल हुँदै आएको छ । यो परियोजना रामेछाप र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र सुनकोशी नदीमा बन्नेछ ।
गतवर्षको जेठ १ र २ गते बंगलादेशको पटौखालीमा भएको यी दुई संयन्त्रको बैठकमा ६ महीनाभित्र नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रमबाट सुनकोशी ३ परियोजना बनाउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो । ६ महीनाभित्र सम्झौतापत्रमा हस्ताक्षर नभए पनि एक वर्षपछि गर्ने प्रयासमा दुई देश लागेको सरकारी अधिकारीहरू बताउँछन् । नेपाल र बंगलादेश दुवै देशले भारतीय कम्पनीलाई पनि संयुक्त उपक्रममा सामेल गराउने इच्छा गरेका छन् ।