काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बोनस शेयर बापतको रकम जम्मा गर्न सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले सूचना जारी गर्दै आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने निर्णय भएको १८ दशमलव ३८११ प्रतिशत बोनस शेयर बापतको रकम जम्मा गर्न भनेको हो ।
उक्त बोनस शेयर कम्पनीको गत असोज २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको थियो । साविकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिई सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नामबाट २०७९ चैत ९ गतेदेखि एकीकृत कारोबार शुरू भएको थियो ।
आयकर ऐन २०५६ को व्यवस्था बमोजिम गाभिएको मितिमा कायम रहेका शेयरधनीहरूलाई गाभिएको मितिबाट दुई वर्षसम्म लाभांशमा कर नलाग्ने व्यवस्था रहेको छ ।
एकीकृत कारोबार मितिपश्चात् कायम शेयरधनीहरूले बोनस शेयरबापत लाग्ने ५ प्रतिशत रकम बैंक खातामा जम्मा गरी सोको भौचर स्क्यान गरी कम्पनीलाई उपलब्ध गराएपछि बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीको एनएमबी बैंकको बबरमहल, काठमाडौं शाखामा रहेको ९९०००५३६६७८००१७३ खातामा बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्नुपर्ने भएको हो । कम्पनीको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।