काठमाडौं । आज (बुधवार) निकै उतारचढावबीच नेप्से परिसूचक घटेर बन्द भएको छ । लामो समयदेखि अन्योलमा रहेका लगानीकर्ता बुधवार भने गभर्नर नियुक्तिसँगै शुरुवाती समयमा केही उत्साहित बनेका थिए । २ हजार ७१२ दशमलव २६ विन्दुदेखि खुला भएको बुधवारको बजार कारोबार खुलेको ३ मिनेटभित्र २ हजार ७७१ दशमलव ४७ विन्दुमा पुगेको थियो । आज बजार २ हजार ६६७ दशमलव ८५ विन्दुसम्म झरेको थियो । अन्तिममा बजार अघिल्लो कारोबार दिनभन्दा ७ दशमलव ९४ अंकले घटेर २ हजार ६६९ दशमलव ५१ विन्दुमा बन्द भएको हो ।
आज ९३ कम्पनीको शेयरमूल्य बढ्दा ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ । प्रतिकित्ता ८४ रुपैयाँ ६० पैसाले बढेर ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमूल्य प्रतिकित्ता ९३१ रुपैयाँ २० पैसा कायम भएको हो ।
आज १५३ कम्पनीको शेयरमूल्य भने घटेको छ । एकमात्र महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने स्थिर रही प्रतिकित्ता २ हजार २७० रुपैयाँ नै कायम भएको छ । आज श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ८ दशमलव ३२ प्रतिशत घटेर अन्तिम मूल्य ४४० रुपैयाँ ६ पैसा कायम भएको छ ।
बुधवार बजार घटे पनि कारोबार रकम बढेको छ । मंगलवार ७ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको १ करोड ६८ लाख ८८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा बुधवार १० अब ६९ करोड रुपैयाँभन्दा बढीको २ करोड ३० लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । कारोबार रकम बढेको आधारमा लगानीकर्ताको सक्रियता पछिल्लो कारोबार दिन बढेको ब्रोकरहरू बताउँछन् । केही दिन लगानीकर्ताको उत्साह कायम रहने अनुमान ब्रोकरहरूले गरेका छन् ।
बुधवार सर्वाधिक रकमको कारोबार राधी विद्युत्को भएको छ । राधी विद्युत्को ७१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । प्रतिकित्ता २३ रुपैयाँ ५४ पैसाले बढेर राधी विद्युत्को शेयरमूल्य प्रतिकित्ता ७७१ रुपैयाँ १० पैसा कायम भएको छ ।
आज वाणिज्य बैंकको परिसूचक शून्य दशमलव २५ प्रतिशत, विकास बैंकको शून्य दशमलव १४ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १९ प्रतिशत बढेको छ । यीबाहेक बाँकी समूहको परिसूचक भने घटेका छन् । यो दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको हो ।
कुल बजार पूँजीकरण १३ अर्ब २१ करोडभन्दा बढी घटेको छ । मंगलवार ४४ खर्ब ५५ अर्ब २६ करोड ८२ लाख रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण बुधवार ४४ खर्ब ४२ अर्ब ५ करोड १० लाख रुपैयाँ कायम भएको छ ।