काठमाडौं । रूपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि बुटवलको योगीकुटीबाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेशनबाट मैनहिया सबस्टेशनसम्म १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा बुधवारदेखि विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याएको हो । प्रसारण लाइन निर्माणसँगै करीब २०० मेगावाट विद्युत् प्रवाह हुन सक्नेगरी पूर्वाधार तयार गरिएको छ ।
मैनहियामा १३२/३३/११ केभीको सबस्टेशन निर्माण गरिएको छ । सबस्टेशनमा ४५ एमभीए, ३३/११ केभीए र १६ एमभीए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन् । प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने र उद्योगहरूलाई मागेजति विद्युत् दिन सकिने आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए ।
स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेशनबाट ३३ केभीएका १० ओटा फिडर निकालिने छन् । तीमध्ये चारओटा फिडरको लाइन तानिएको उनले बताए । कुल १८ किलोमिटर प्रसारण लाइनमा ५७ ओटा टावर निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई दुई किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/७१ देखि शुरू भएको थियो ।
मैनहिया सबस्टेशनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभीए डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेशनबाट भारतको उत्तरप्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेशन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तरप्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकामा मैनहिया–सम्पत्तियामा संरचना बनेपछि नेपाल–भारत आन्तरदेशीय विद्युत् व्यापार थप सहज हुनेछ ।