काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म विद्युत् विक्रीबाट ६८ करोड ७० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । उक्त रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५ दशमलव १६ प्रतिशत कम हो ।
अघिल्लो आवको यस अवधिसम्म कम्पनीले विद्युत् विक्रीबाट ७२ करोड ४४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । विद्युत् विक्री आम्दानी घटेसँगै कम्पनीको सञ्चालन आम्दानीमा करीब २६ प्रतिशत कमी देखिएको छ । अघिल्लो आवमा २९ करोड २८ लाख रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेको कम्पनीले गत आवमा २१ करोड ७४ लाख रुपैयाँभन्दा बढी उक्त आम्दानी गरेको हो ।
कम्पनीको खुद नाफा अघिल्लो आवभन्दा ४२ प्रतिशत कम भएको छ । अघिल्लो आवमा ३० करोड ५० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत आवमा १७ करोड ६४ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो ।
३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्वीटी ३ अर्ब ६२ करोड २१ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २०६ रुपैयाँ ६८ पैसा छ ।