काठमाडौं । चालू आर्थिक वर्ष (आव) को ९ महिना (साउन-वैशाख)मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेको छ भने विदेशबाट भित्रिने रेमिट्यान्स पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो तथ्याङ्क देखाएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आव ०८०/८१ को यही अवधिको तुलनामा चालू आवको ९ महिनाको वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिनेको संख्या ३ लाख २७ हजार ८४२ रहेको थियो भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ११ हजार २२६ रहेको थियो ।
यसैगरी‚ समग्रमा विदेशबाट भित्रिने विप्रेषण आप्रवाह चालू आवको ९ महिनामा १०.० प्रतिशतले वृद्धि भई रु.११९१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । यसैगरी‚ चालू आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।