काठमाडौं । देशको अर्थतन्त्र सुधारोन्मुख देखिएको संकेत गर्दै चालू आर्थिक वर्ष (आव) २०८१/८२ को दोस्रो त्रैमासमा उद्योगहरूको क्षमता उपयोग र आयमा वृद्धि देखिएको छ ।
नेपाल उद्योग परिसंघले ६४ ओटा उत्पादनमूलक र सेवाक्षेत्रसँग सम्बद्ध उद्योगहरूलाई समेटेर गरेको सर्वेक्षणको आधारमा तयार गरेको प्रतिवेदनअनुसार चालू आवको दोस्रो त्रैमासमा उद्योगहरूको औसत क्षमता उपयोग ६२ दशमलव ३५ प्रतिशत रहेको छ । अघिल्लो त्रैमासमा समग्र क्षमता उपयोग ६० दशमलव २६ प्रतिशत थियो ।
खासगरी उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) उद्योगहरूको क्षमता उपयोग बढेकोले जम्मा क्षमता उपयोगमा सुधार भएको परिसंघले तयार गरेको उद्योगको अवस्थासम्बन्धी प्रतिवेदनमा उल्लेख छ । सेवाक्षेत्रका उद्योगका क्षमता उपयोग भने केही घटेको छ । सर्वेक्षणमा सेवाक्षेत्रका ५३ दशमलव १२ प्रतिशत उद्योगहरू समेटिएका थिए ।
क्षमता उपयोगमा सुधार भएसँगै उद्योगहरूको आम्दानीमा पनि सुधार भएको छ । प्रतिवेदनअनुसार दोस्रो त्रैमासमा उनीहरूको आय १२ दशमलव ३३ प्रतिशतले बढेको छ जबकि पहिलो त्रैमासमा आय १० दशमलव २६ प्रतिशतले बढेको थियो ।
राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो त्रैमासमा आर्थिक वृद्धिदरमा सुधार भएको अनुमान लगाएको बेला यस्तो सुधार देखिएको छ । तथ्यांक कार्यालयले चालू आवको दोस्रो त्रैमासको आर्थिक वृद्धिदर अघिल्लो आर्थिक वर्षको सोही त्रैमासको तुलनामा ५ दशमलव १ प्रतिशत बढी हुने प्रक्षेपण गरेको छ ।
बजारमा माग नै सृजना नभएकाले उद्योगहरूको उत्पादन घटेको विश्लेषण भइरहेको बेला यो प्रतिवेदनले मागमा अघिल्लो त्रैमासको तुलनामा १९ दशमलव ६७ प्रतिशतले वृद्धि भएको देखाएको छ । म्यानुफ्याक्चरिङ उद्योगका सामानको माग भने १२ दशमलव ९३ प्रतिशतले बढेको परिसंघले बताएको छ । हालै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि गत २ आवमा अर्थतन्त्रमा माग सृजना नभएको कारण अर्थतन्त्रमा सुधार हुन नसकेको जानकारी दिएको छ ।
सर्वेक्षणमा समेटिएका उद्योगीहरूले आगामी तेस्रो त्रैमासमा व्यापारमा सुधार आउने आशा भने गरेका छैनन् । म्यानुफ्याक्चरिङ उद्योगहरू चलाइरहेका सञ्चालकहरूमा त्यस्तो आशा तुलनात्मक रूपमा कम रहेको परिसंघले जनाएको छ । तर पनि धेरैले अर्को त्रैमासमा लगानी बढाउने योजना बनाएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार ६२ दशमलव ५ प्रतिशत उद्योगीले अर्को त्रैमासमा नयाँ लगानी गर्ने योजना बनाएका छन् ।